News

राज्यकोषको २ करोडभन्दा वढि सिद्याएर एउटै कानून नबनाई संसद अधिवेशन अन्त्य

११० दिनभित्र २८ वटा बैठक, नतिजा सून्य

राज्यकोषको २ करोडभन्दा वढि सिद्याएर एउटै कानून नबनाई संसद अधिवेशन अन्त्य

संघीय संसद्को दुवै सदनको अधिवेशन शुक्रबार राति १२ बजे अन्त्य भएको छ। चालू अधिवेशन २०७९ पुस २५ गतेदेखि शुरु भएको थियो। जेठ १५ गते नयाँ आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गर्नुपर्ने भएकाले अधिवेशन अन्त्य गरिएको बताइएको छ।

केही दिनभित्रै बजेट अधिवेशनका रूपमा संघीय संसद्को वर्षे अधिवेशन आह्वान हुनेछ। ११० दिन चलेको प्रतिनिधिसभाको २८ वटा बैठक बसेका थिए। यो अधिवेशनले एउटा पनि कानून बनाउन सकेन। मंसिर ४ को निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो अधिवेशनलाई निकै चासोसाथ हेरिएको थियो ।

तर, पुस २५ मा सुरु भएको पहिलो अधिवेशनले एउटै पनि कानुन निर्माण गर्न सकेन, बरु सरकार निर्माण प्रक्रियामा बढी अल्झियो । शुक्रबार मध्यरातबाट भने दुवै सदनको अधिवेशन सकिएको छ ।यो अधिवेशनले आठवटा विधेयकलाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ।

प्रतिनिधि सभाको २८ वटा वैठक सञ्चालन हुँदा करिव २ करोड खर्च लागेको छ। संसद सचिवालय श्रोतका अनुसार प्रतिनिधिसभाको एउटा बैठक बस्दा करिव ७ लाख रुपैयाँ खर्च हुने गरेको छ। प्रतिनिधिसभाको बैठकको पुर्व तयारीदेखि सांसदहरुलाई उपलब्ध गराउने यातायात र बैठक भत्ता समेत जोड्दा प्रति बैठक दैनिक ७ लाख रुपैयाँ भन्दा वढि नै खर्च हुने गरेको संघीय संसद सचिवालयले जनाएको छ ।

यो बैठक कार्यकक्ष सरसफाइ, प्रविधि जाँच, सुरक्षा प्रबन्ध, जनशक्ति परिचालन, संसद भवनको बार्षिक भाडा, पानी बिजुलीलगायतमा हुने खर्चहरुको एकमुष्ट रकम हो । यसमा सांसदहरुलाई उपलब्ध गराउने भत्ता समेतच जोडिएको छ।

बैठक अवरुद्ध हुँदा पनि सचिवालयको यो खर्च कम हुदैन। बैठक भत्ता वापत एक हजार र यातायात बापत १ हजार गरी प्रत्येक सांसदलाई २ हजार रुपैयाँ उपलब्ध गराइने गरिएको छ । बैठक अवरुद्ध हुँदा कार्यसूचीलाई मात्रै प्रभाव पार्ने संसद सचिवालयका अधिकारीहरु बताउँछन् ।

संसद अधिवेशन खर्च

विशेष