News बैंकिङ अपराध सुरक्षा

बैंक बन्द गर्ने धम्कीपछि दुर्गा प्रसाईको अभियान विरुद्ध गृहमन्त्रालय एक्सनमा

अराजक गतिविधि नियन्त्रण गर्न स्थानीय प्रशासनलाई निर्देशन

बैंक बन्द गर्ने धम्कीपछि दुर्गा प्रसाईको अभियान विरुद्ध गृहमन्त्रालय एक्सनमा

मेडिकल व्यवसायी दुर्गा प्रसाईले सुरु गरेको कालोमोसो अभियानका कारण बैंक तथा वित्तीय संस्थाहरुमाथि निरन्तर भईरहेको प्रहार विरुद्ध प्रहरीले एक्सन लिने भएको छ।

गृहमन्त्रालयले प्रत्येक जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाइ त्यस्ता गलत गतिविधि हुन नदिन आदेश दिएको गृहसचिव विनोद प्रकाश सिंहले जानकारी दिए । बैंक तथा वित्तीय संस्था एवम् कर्मचारीहरुमाथि कुनै पनि खालको आक्रमण भए स्थानीय प्रशासनले तत्काल कारबाही गर्ने उनको भनाइ छ ।

लिएको ऋण नतिर्नेमात्र होइन, अरुलाई समेत नतिर्न सार्वजनिक आह्वान गर्दै हिँड्ने अराजक गतिविधि नियन्त्रण गर्न मन्त्रालयले यस्तो कदम उठाएको जनाईएको छ। हाकाहाकी बैंक तथा वित्तीय संस्थाहरुका विरुद्ध गलत गतिविधि तथा अभिव्यक्ति दिँदै हिँड्ने, अझ बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमाथि नै भौतिक आक्रमणमा उत्रिँदासमेत सरकारले मौनता साँधेको बैंकर्सहरुले आरोप लगाउन थालेपछि गृहमन्त्रालय एक्सनमा आएको हो।

खासगरी, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन), नेपाल बैंकर्स संघ (एनबीए), विकास बैंक संघ लगायतका वित्तीय संघ/संगठनहरु सरकारसँग रुष्ट भएका छन् । केही दिन अघिमात्र प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्री समेतलाई भेटेर परिसंघले यस्ता गतिविधि नरोकिए बैंक नै बन्द गर्ने चेतावनी समेत दिएको थियो।

मुख्यसचिव, गृहसचिव समेत उपस्थित बैठकमा ‘निरन्तरको आक्रमण सहन नसक्ने’ भन्दै बैंक बन्द गर्ने बताएपछि सरकारले स्थानीय प्रशासनलाई सकृय वनाएको वताईएको छ। 

दुर्गा प्रसाई कालोमोसो

विशेष