News

तुलसी सहकारीको दर्ता खारेज गर्ने प्रकृया सुरु

तुलसी सहकारीको दर्ता खारेज गर्ने प्रकृया सुरु

करिव १५ सय बचतकर्ताको एक अर्ब ४८ करोड रुपैयाँ हिनामिना गरेको विराटनगर स्थित तुलसी सहकारीको दर्ता खारेज गर्ने प्रकृया सुरु भएको छ। तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्षसहितका सञ्चालक नै फरार भएपछि विराटनगर महानगरपालिकाले दर्ता खारेज गर्ने प्रकृया सुरु गरेको हो।

तुलसी सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित पाँच जना सञ्चालक अहिले फरार छन भने उपाध्यक्ष अनिता गौतम, सचिव सविना निरौला र प्रबन्धक मन्दिप खवास पुर्पक्षका लागि थुनामा छन्। जिल्ला अदालत मोरङले उनीहरुलाई पुपक्षका लागि मोरङ कारागार पठाएको हो ।

विराटनगरमा मुख्य कार्यालय रहेर झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा शाखा कार्यालय रहेको तुलसी बहुमुखी सहकारी संस्थाले १ हजार २ सय ९७ बचतकर्ताको १ अर्ब ४८ करोड ५५ लाखभन्दा बढी बचत हिनामिना गरेको थियो ।

२१ हजार ७ सय १३ जना सदस्य रहेको उक्त सहकारीका अध्यक्ष केदारनाथ शर्माले एक्लैले ४१ करोड हिनामिना गरेको मोरङ प्रहरीको अनुसन्धानले पुष्टि गरेको छ ।

तुलसी सहकारीका सञ्चालकको लगानीमा खुलेका कम्पनीमध्ये नटराज एग्रोमा ६ करोड, तुलसी मोटर पम्पमा ३२ करोड, झापाको गौरदहस्थित तुलसी राइस तथा चिउरा मिलमा ३५ करोड र तुलसी अनुसन्धान केन्द्रमा सहकारीको १० लगानी रहेको प्रहरी अनुसन्धानमा देखिएको छ।

अध्यक्ष शर्मा हाल भारतीय लगानी भित्र्याएर सहकारीलाई थप उर्जासहित सञ्चालन गर्ने दावी गरिरहेका छन्। फरार रहेका शर्मा अहिले भारतमै लुकेर वसेको प्रहरीको आशंका छन्। उनका श्रीमती र छोरा काल्र्ससमेत फरार छन्।
 

तुलसी सहकारी केदारनाथ शर्मा

विशेष