News अपराध सुरक्षा

८ मिनेटभित्रै निरालाई २० ठाउँमा छुरा हानी हत्या गरेर भागेका थिए विनोद

८ मिनेटभित्रै निरालाई २० ठाउँमा छुरा हानी हत्या गरेर भागेका थिए विनोद

वैशाख ७ गते कपनस्थित सरस्वतीनगरमा भएको नीरा पाण्डे आचार्यको हत्या सिक्री लुट्नका लागि भएको खुलेको छ। सिक्री लुट्न खोज्दा प्रतिकार गरेपछि निराको हत्या गरिदिएको घटनामा संलग्न विनोद विश्वकर्माले प्रहरीलाई बयान दिएका छन्।

उनले पसलमा पुगेको ८ मिनेटको बीचमा निरालाई करिव २० ठाउँमा छुराले हानेर हत्या गरी मृतकले लगाएका गहना लुटेर भागेको खुलेको छ। दिउँसो २ बजेर ४६ मिनेट जाँदा घटनास्थलमा पुगेका बिनोद ५४ मिनेट जाँदा घटनास्थलबाट बाहिरिएका थिए।

पसलमा पुगेपछि विनोदले निरुलाई सामान किन्ने बहाना बनाएका थिए। पछि सिक्री लुट्न खोज्दा निराले प्रतिकार गरेको र चक्कु प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ। उनले भाँडा पसलकै चक्कु प्रयोग गरेर हत्या गरेको प्रहरीको भनाई छ। निराको मुख थुनेर पसलमा रहेको चक्कु प्रहार गरी आफूले नै हत्या गरेको उनले स्वीकार गरेका छन् ।

घटनापछि उनले पसलभित्रै लुगा फेरेर भागेको बताएका छन् । प्रहरीका अनुसार घटनास्थलमा मास्कबाहेक उनको लुगा पनि भेटिएको छ । सम्भावित सीसी टिभी फुटेज वा आफ्नो हुलियाको प्रमाण नहोस् भनेर उनीभित्र जाँदा एउटा र हत्या गरेर फर्किँदा अर्कै लुगा लगाएको अनुसन्धानमा संलग्न एक अधिकारीको आशंका छ ।

उनले सिक्रीसँगै केही नगद पैसा पनि लगेर गएको बुझिएको प्रहरीले जनाएको छ । निरुको हत्यापछि लुटेको गहना वेचेर उनी झापा पुगेका थिए।

प्रहरीले लामो अनुसन्धानपछि उनलाई पक्राउ गरेको हो। इन्ड्राइभमार्फत घटनास्थल नजिकै पुगेका विनोदले हुलिया चिन्न गाह्रो पर्नेगरी अनुहारमा मास्क लगाएका थिए। सीसी क्यामेरा फुटेजमा पनि राम्रोसँग खुल्न सकेको थिएन। 

विनोदले हत्या गर्नुको थप कारणबारे अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ। विनोदले घटनामा आफ्नो संलग्नता स्वीकार गर्दै गहना बिक्री गरेको पसलबारे पनि बताइसकेका छन्। उनी काठमाडौंकै एक नाइट क्लबका बाउन्सर हुन्। तर पछिल्लो समय आफूले त्यो जागिर छाडेको उनले प्रहरीलाई बताएका छन्। 

नीरा आचार्य

विशेष