News

१६औं पटक मन्त्री बनेको उपलक्ष्यमा रक्सी पार्टी, ठाडो घाँटी लगाउँदै महिलाको तँछाड–मँछाड

१६औं पटक मन्त्री बनेको उपलक्ष्यमा रक्सी पार्टी, ठाडो घाँटी लगाउँदै महिलाको तँछाड–मँछाड

गत बिहीबार दिउँसो मन्त्री नियुक्त भएका लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरतसिंह भण्डारीको निवासमा भएको कक्टेल पार्टीको भिडियो अहिले समाजिक संजालमा भाईरल भईरहेको छ।

महन्थ ठाकुर–राजेन्द्र महतोको लोसपाका नेता भण्डारी मन्त्री भएको उपलक्ष्यमा सोही साँझ भव्य कक्टेल डिनरको आयोजन भएको थियो। उनलाई बधाई दिन फूलका गुच्छा र खादा बोकेर आएका नातेदार र नेतासामु मन्त्री भण्डारीले स्याम्पेनको बोटल खोलेर फिँज निकालेका थिए । 

स्याम्पेन मुखमा हाल्न महिलाहरु तँछाड मछाड गरेर ठाडो घाँटी लगाएको भिडियोमा देख्न सकिन्छ । त्यसपछि कक्टेल डिनरको आयोजना गरिएको स्रोतको दाबी छ । यो भिडियो सार्वजनिक भएपछि भण्डारीको तिव्र आलोचना भईरहेको छ।

भण्डारी पञ्चायतकाल, प्रजातन्त्र पुनर्स्थापना र गणतन्त्रकालमा गरेर १६ औं पटक मन्त्री बनेका हुन् । ०४३ मा मरिचमान सिंह प्रधानमन्त्री भएको बेलादेखि मन्त्री हुँदै आएका उनी यस पटक श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री नियुक्त भएका छन् । 

०३८ मा सुधारिएको पञ्चायत व्यवस्थामा भएको प्रत्यक्ष निर्वाचनमा सहभागी भएका भण्डारी पटक पटक चुनाव जित्दै मन्त्री हुँदै आए । ०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा राजनीतिमा सक्रिय भएका भण्डारी बहुदल आएपछि नेपाली कांग्रेसमा आबद्ध भए। 

२०६२÷२०६३ को आन्दोलनपछि बनेको अन्तरिम संसदमा कांग्रेसबाट सांसद रहेकै बेला उनी कांग्रेस छाडेर उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरममा प्रवेश गरेका थिए । पहिलो संविधानसभा चुनावमा महोत्तरीबाट चुनाव जितेका थिए ।  तत्कालीन मधेशी जनअधिकार फोरमबाट अलग भएर विजयकुमार गच्छदारले मधेशी जनअधिकार फोरम लोकतान्त्रिक गठन गर्दा  भण्डारीले पनि साथ दिएका थिए । पछि डा.बाबुराम भट्टराई नेतृत्वको सरकारमा उनी रक्षा मन्त्री बने । 

रक्षामन्त्री रहेकै बेला विवादास्पद अभिव्यक्ति दिएका कारण उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । ०६४ साल फागुन १६ गते नेपाल सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको ८ बुँदे सम्झौताअनुसार नेपाली सेनामा मधेसी समूदायको समूहगत प्रवेशको विषय उठाउँदा उनी विवादमा मुछिएका थिए । त्यसबेला मधेशी समुदायमाथिको विभेद अन्त्य नभए देशसमेत विखण्डन हुन सक्ने अभिव्यक्ति दिएपछि उनलाई बर्खास्त गरिएको थियो ।

‘राजतन्त्र समाप्त गर्न सकिन्छ भनेर कुन संविधान, कानुनमा लेखिएको थियो ? तर जनताले रुचाएनन् र फालिदिए । तराईका २२ जिल्लाका जनताले छुट्टिने निर्णय गरे संविधान, कानुनले रोक्न सक्दैन । मधेसका जनताको भावना राष्ट्रले बुझ्न नसके नेपालबाट २२ जिल्ला टुक्रिन पुग्छन् । २२ जिल्लाका मधेसीलाई हेपेर, पेलेर पन्छाउनुभन्दा सम्मान दिएर भावनात्मक रूपमा एकता कायम गरि राष्ट्रिय एकता र अखण्डता बलियो पार्नुपर्छ’ भन्दै उनले अभिब्यक्ति दिएका थिए। 

सो राजीनामा प्रकरणमा गच्छदारले साथ नदिएको भन्दै असन्तुष्ट रहेका भण्डारीले त्यसपछि छुट्टै समूह बनाएर तराई मधेसमा जनजागरण अभियान थालेका थिए । त्यसलगत्तै उनले राष्ट्रिय मधेस समाजवादी पार्टी नै गठन गरे । केही समय आफ्नै नेतृत्वको पार्टी चलाए ।  ०७० को चुनावमा दुईवटा क्षेत्रबाट चुनाव लडेका उनले दुवै ठाउँबाट चुनाव हारे । चुनावको केही समयपछि विभिन्न ६ वटा दलहरु मिलेर राजपा नेपाल निर्माण भयो । राजपामा भण्डारी नेतृत्वको दल पनि समावेश भयो ।

उनी राजपाका अध्यक्ष मण्डलका सदस्य भए । ०७४ मा भएको प्रतिनिधिसभा चुनावमा उनले महोत्तरी १ बाट चुनाव जितेका थिए । एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा उनी १८ दिनका लागि उर्जा मन्त्री भएका थिए ।  ०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा चुनावमा उनी पुनः सोही क्षेत्रबाट निर्वाचित भएका हुन । 
 

शरतसिंह भण्डारी

विशेष