News

बारा २ मा हरुवाहरुको दबदबा, चोरबाटोबाट संसद छिर्ने दाउ

बारा २ मा हरुवाहरुको दबदबा, चोरबाटोबाट संसद छिर्ने दाउ

वैशाख १० को उपनिर्वाचनमा बारा–२ मा हरुवाहरूबीच नै मुख्य प्रतिस्पर्धा हुने भएको छ । 

बारा २ मा जनता समाजादी पार्टी (जसपा)बाट उपेन्द्र यादव,  जनमत पार्टीबाट शिवचन्द्र कुसवाह, राष्ट्रिय स्वतन्त्रा पार्टी (रास्वपा)बाट रमेश खरेललगायत स्वतन्त्रसहित १७ जनाले उम्मदेवारी दर्ता गरेका छन् । 

यो उपनिर्वाचनमा मंसिर ४ को निर्वाचन मार्फत जनताले पाँच वर्ष संसद् नपस्न दिएको जनादेश विपरित नेताहरू चोरबाटोबाट संसद् पस्ने कोसिसमा छन्। 

उपेन्द्र यादव गत निर्वाचनमा सप्तरी–२ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए । मधेस आन्दोलनको नेतृत्व गरेर उदाएका यादवलाई मधेसकै अर्का उदीयमान नेता सीके राउतले १८ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए । 

पराजितहरूसँग भिड्न लागेका अर्का पात्र शिवचन्द्र कुशवाह पनि हुन। उनी गत मंसिर ४ को निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट पराजित भएका थिए । गत निर्वाचनमा उनी जसपाका उम्मेदवार रामसहायप्रसाद यादवसँग ३५४ मात्रै मत अन्तरले पराजित भएका थिए । रामसहाय उपराष्ट्रपति बनेपछि बारा–२ मा उपनिर्वाचन हुन लागेको हो ।

बारा–२ मा काठमाडौं–१ बाट हारेका रमेश खरेलले समेत उम्मेदवारी दिएका छन् । उपनिर्वाचन लड्न नेपाल सुशासन पार्टीका अध्यक्ष समेत रहेका खरेल गत शनिबार मात्रै रास्वपामा समाहित भएका थिए । खरेल मङ्सिरको चुनावमा काठमाडौं–१ मा पाँचौ भएका थिए । 

यसरी करिब ५ महिना अघि मात्रै जनताले नरुचाएका नेताहरू फेरि चुनावी प्रतिष्पर्धामा जादैँछन् । एक ठाउँका जनताको मत नपाएर पराजित भएका व्यक्तिहरू निर्वाचन क्षेत्र होस् वा पार्टी परिवर्तन गरेर निर्वाचनमा भाग लिनु जनमतको अवमूल्यन हो । जनताबाट अस्वीकृत भएका नेताहरूलाई दलहरूले नै उपनिर्वाचनमा उम्मेदवार बन्नु लोकतन्त्रको उपहास भएको केहीले टिप्पणी गर्न थालेका छन् । 

यता, एमालेका तर्फबाट पूर्वसंविधानसभा सदस्य एवं पूर्वमन्त्री पुरुषोत्तम पौडेलले पनि उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ।
 

विशेष