News

मिटर ब्याज असुलेको आरोपमा जनमत पार्टीका नेता सुरेन्द्र मधेशी पक्राउ

मिटर ब्याज असुलेको आरोपमा जनमत पार्टीका नेता सुरेन्द्र मधेशी पक्राउ

मिटरब्याज असुलेको र धरौटीबापत राखिएको जग्गा फिर्ता नगरेको आरोपमा प्रहरीले सप्तरीबाट जनमत पार्टीका नेतालाईलाई पक्राउ गरेको छ।

विष्णुपुर गाउँपालिका–७ का स्थाई घर भई राजविराज–७ मा घर बनाएर बस्ने गरेका सुरेन्द्र मधेशी भन्ने सुरेन्द्रप्रसाद शर्मालाई सोमबार प्रहरीले पक्राउ गरेको हो। जनमत पार्टीका पूर्व जिल्ला इन्चार्ज रहेका शर्मा हाल केन्द्रीय सदस्य छन्।

उनीमाथि इलाका प्रहरी कार्यालय कल्याणपुरमा आपराधिक विश्वासघात र ठगी मुद्दामा जाहेरी परेको र अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि नियन्त्रणमा लिइएको सप्तरीका डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।

सप्तरीकै बोदेवरसाइन नगरपालिका १० का निर्मलकुमार यादवको जाहेरीले नेपाल सरकार वादी भइ शर्मामाथि आपराधिक विश्वासघात तथा ठगी मुद्दा चलाइएको हो । डिएसपी सिंहका अनुसार जाहेरीकर्ता निर्मलका बुबा शंकर यादवले पक्राउ गरिएका सुरेन्द्रका बुबा सत्यनारायण शर्मासँग ०६६ सालमा घर खर्चका लागि भन्दै २५ लाख रुपैयाँ ऋण लिएका थिए ।

ऋण लिँदा शंकर यादवले सत्यनारायणलाई आफ्नो स्वामित्वको शम्भुनाथ नगरपालिका–७ स्थित ८ बिघा ७ कट्ठा ७ धुर जग्गा लिखत पास गरिदिएका थिए । सत्यनारायणले आफ्नो नाममा लिखत पास भइ आएको जग्गा छोरा सुरेन्द्रप्रसाद शर्माको नाममा पास गरिदिएका थिए । ऋणीले पूरै ऋण चुक्ता गर्दा पनि सुरेन्द्रले जग्गा फिर्ता गर्न नमानेपछि प्रहरीमा जाहेरी दिएको डिएसपी सिंहले जनाए ।

ऋणीले ऋण चुक्ता गरे पनि चर्को ब्याज जोड्दै आफ्नो रकम बाँकी नै रहेको दबाबसहित जग्गा फिर्ता गर्न नमानेपछि पीडित पक्ष मिटरब्याज असुलेको भन्दै प्रहरीमा गएको बताएका छन् । मिटरब्याजमा मुद्दा चलाउने कुनै कानुन नभएपछि आपराधिक विश्वासघात र ठगीमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ।
 

मिटरब्याज

विशेष