रवि लामिछानेको मुद्दा न्यायाधीश सिन्हाले सुनुवाइ गर्न मानेनन

राहदानी दुरुपयोगको कसुरमा कारबाही गर्न माग गरिएको रास्वपा सभापति रवि लामिछानेको रिट न्यायाधीश अनिलकुमार सिन्हाले सुनुवाई गरेनन्।
मंगलबार सिंहाको इजलासमा पेशी तोकिए पनि हेर्न नमिल्ने भन्दै सुनुवाइ नगरेका हुन्। दिउँसो सुनुवाइ सुरु गर्न लाग्दा सिन्हाले यसअघि संवैधानिक इजलासमा रहेर आफूले रविको मुद्दा हेरेकाले आफूले हेर्न नमिल्ने बताएका हुन्।
सर्वोच्च अदालतमा सोमबार दर्ता भएको रिटमा मंगलबार न्यायाधीश सिन्हाको एकल इजलासमा सुनुवाइ हुने तालिका थियो। सिन्धुलीका युवराज पौडैल ‘सफल’ले आइतबार सर्वोच्चमा दायर गरेको रिट सोमबार दर्ता भएको थियो।
रिटमा उत्प्रेषण, परमादेश लगायत जे–जो चाहिने उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ भनि माग गरिएको थियो। रविविरुद्ध यसअघि प्रहरीले यही कसुरमा अनुसन्धान गरेको थियो। यसअघि राहदानी दुरुपयोसम्बन्धी मुद्दा प्रहरी र सरकारी वकिल कार्यालयले नचलाउने निर्णय गरेका थिए।
मुद्दा नचलाउने निर्णयविरुद्ध सफलले महान्यायाधिवक्ताको कार्यालयलाई समेत विपक्षी बनाएर रिट हालेका थिए।
रवि लामिछाने २०७० फागुन ९ मा अमेरिकी नागरिक भएका थिए। अमेरिकी राहदानी रहेका र अमेरिकी नागरिक हुँदा हुँदै नेपाली राहदानी २०७२ जेठ १३ गते लिएका थिए।
उक्त प्रकरणमा रविलाई कारबाही गरी पाउन मागसहित सफलले गत माघ १७ मा जाहेरी दिएका थिए। लामिछानेले पनि नेपाली नागरिकता लिएको बयानको क्रममा स्वीकार गरिसकेका थिए।
नेपालमा दोहोरो नागरिकताको प्रणाली नभएको र विदेशको नागरिकता प्राप्त गरे पश्चात नेपाली नागरिक कायम नहुने ब्याख्या भएको निवेदनमा उल्लेख थियो।