News

रवि विरुद्धको मुद्दामा आज सुनुवाइ, खारेज होला उम्मेदवारी ?

रवि विरुद्धको मुद्दामा आज सुनुवाइ, खारेज होला उम्मेदवारी ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदैछ । युवराज सफलले सोमबार दर्ता गरेको रिटमा प्रारम्भिक सुनुवाइका लागि आज पेशी तोकिएको हो ।

लामिछानेलाई नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै सफलले मुद्दा दायर गरेका थिए। अमेरिकी नागरिक रहेकै अवस्थामा नेपाली नागरिकता दुरुपयोग गरेर राहदानी लिए पनि लामिछानेविरुद्ध मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय बदर हुनुपर्ने र उनीमाथि अनुसन्धान गरी मुद्दा चलाउने आदेश हुनुपर्ने माग रिट निवेदकले गरेका छन् ।

नागरिकता दुरुपयोग गरेको भनी परेको उजुरीमा अनुसन्धान गरेको प्रहरीले लामिछानेमाथि मुद्दा नचल्ने रायसहित प्रतिवेदन पेश गरेको थियो । त्यही प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने भनी गरेको निर्णयलाई महान्यायाधिवक्ता कार्यालयले सदर गरेको थियो ।

नागरिकता दुरुपयोगको उजुरीमा लामिछानेलाई गैरकानुनी रुपमा उन्मुक्ति दिइएको दाबी अधिवक्ता सफलले गरेका छन् ।

नेपाली नागरिकता त्यागेर अमेरिकाको नागरिकता लिएको र अमेरिका छाडेर नेपाल फर्किएपछि पुनः नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले रविको सांसद पद खारेज गरिदिएको थियो ।

अदालतको आदेशपछि उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकता लिएका थिए । तर पुरानै नागरिकताबाट राहदानी बनाएको भन्दै उनीविरुद्ध नागरिकता दुरुपयोगको मुद्दा परेको छ ।

नागरिकता दुरुपयोग फौजदारी कसुरअन्तर्गत कारबाही हुने मुद्दा हो । राहदानी ऐन, २०६३ मा झुठा विवरण दिएर राहदानी वा यात्रा अनुमति पत्र लिए वा लिने प्रयन्त गरे कसूर हुने भनेको छ । यस्तो कसूर गर्नेलाई दुई लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षदेखि तीन वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

तर, राज्यका निकाय नै लागेर उनलाई उन्मुक्ति दिईएपछि अहिले उनी चितवन २ मा भईरहेको उपनिर्वाचनमा पुनः उम्मेदवार वनेको छन्। 

रवि लामिछाने

विशेष