News

रवि लामिछानेविरुद्ध निर्वाचन कार्यालयमा उजुरीको चाँङ

रवि लामिछानेविरुद्ध निर्वाचन कार्यालयमा उजुरीको चाँङ

चितवन–२ मा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध ४ वटा उजुरी परेको छ। वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका लामिछाने विरुद्ध एउटा इमेलबाट र तीन वटा कार्यालयमै उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

तीन वटा उजुरी उम्मेदवार र उम्मेदवारका प्रतिनिधिले दर्ता गराएका हुन् । राष्ट्रिय जनमोर्चाबाट उम्मेदवारी दर्ता गराएका जनकराज शर्माका प्रतिनिधि डम्बर पुरीले रवि लामिछानेले नागरिक्ता लिएको तीन महिना नपुगेकाले उनी उम्मेदवार हुन योग्य नभएको भन्दै उजुरी दर्ता गराएका छन् ।

गत मंसिर ४ गते भएको चितवन–२ बाट निर्वाचित भएको लामिछानेको सांसद् पद नागरिक्ताकै कारण खारेज भएको थियो। सर्वोच्च अदालतले विदेशी नागरिकता त्यागेपछि प्रक्रिया पु¥याइ नागरिकता नलिएको भन्दै उनको नागरिक्ता खारेज गरेको थियो।

अमेरिकी नागरिकता वा स्थायी अनुमति प्राप्त त्यागेको जानकारी गराएपछि लामिछानेले माघ १५ मा नागरिकता लिएको जिकिर पुरीले दिएको उजुरीमा उल्लेख छ । सोही मितिलाई उनले अमेरिकी नागरिकता त्यागेको औपचारिक जानकारीका रुपमा लिनुपर्ने उजुरीमा भनिएको छ ।

यसैगरी, स्वतन्त्र उम्मेदवारद्वय सन्तोष थापा र अम्बिका भट्टका प्रतिनिधि शिवहरि सुवेदीले पनि मुख्य निर्वचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका छन् । लामिछानेविरुद्ध दर्ता भएका अन्य उजुरीको विषय पनि यही रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै, इमेलबाट काठमाडौंबाट युवराज पौडेलले पठाएको उजुरी पनि कार्यालयमा दर्ता भएको छ। अन्य उम्मेदवार विरुद्ध कुनै उजुरी दर्ता भएको छैन।

रवि लामिछाने

विशेष