News

स्वर्णिमका विषयमा रवि र गगनको भनाभन

स्वर्णिमका विषयमा रवि र गगनको भनाभन

केही दिनअघिसम्म कांग्रेसमै रहेका अर्थविद स्वर्णिम वाग्लेका विषयमा महामन्त्री गगन थापाले अपेक्षाभन्दा तिव्र आलोचना गर्न थालेपछि त्यसको जवाफ दिन रवि लामिछाने अगाडि सरेका छन्।

गगनले वाग्लेलाई पर्यटक उम्मेदवार भनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका लामिछानेले ‘जान्नेलाई छान्ने’ नीतिअनुसार यसपालि तनहुँ १ मा उपनिर्वाचन लड्न पार्टीले स्वर्णिम वाग्लेलाई अघि सारेको बताएका छन्।

तनहुँमा सोमबार भएको कार्यक्रममा बोल्दै लामिछानेले स्वर्णिम यही माटोमा हुर्किएको दावी गर्दै उनलाई पाहुना भन्न नमिल्ने पनि बताए । ‘संसारका कयौं देशको अर्थतन्त्र बिग्रँदा सल्लाह लिन बोलाउने स्वर्णिम वाग्ले त्यो देशका लागि पाहुना नहुने, सम्मानित मानिस हुने यही माटोको सुगन्धबाट हुर्किएको स्वर्णिम पाहुना हुन्छ? हुँदैन। कुनै हालतमा हुँदैन,’ लामिछानेले भने।

यसअघि तनहुँमै सोमबार बोलेका कांग्रेस महामन्त्री थापाले तनहुँका मतदाताले घुम्दैघुम्दै आउने टुरिष्ट उम्मेदवारलाई मत दिनौं भन्नुपर्ने बताएका थिए। थापाले स्वर्णिमलाई लक्षित गर्दै उक्त कुरा बताए पछि लामिछानेले जवाफ दिएका हुन्।

लामिछानेले स्वर्णिमलाई कुनै एक जिल्लामा भन्दा पनि देशले नै छानेको सक्षम उम्मेदवार भनेका थिए। ‘उहाँ यो देशले छानेको उम्मेदवार हो। एक व्यक्ति सक्षम हुँदा देशले मुहार फेर्छ,’ उनले भने।

लामिछानेले नयाँ वर्षमा क्यालेन्डरमात्र नभई भाग्यसमेत फेरिने दाबी गरेका थिए। ‘तपाईंको घरको भित्तामा २०८० सालमा क्यालेन्डर त फेरिँदैछ तर अघिपछिजस्तो होइन। यसपटक क्यालेन्डर फेरिँदा यो देशको भाग्य पनि फेरिनेवाला छ,’ उनले भने, ‘यो देशको भाग्य फेर्नका लागि जान्नेलाई छान्ने नीतिअन्तर्गत देश निर्माण गर्न जान्ने मानिस खोजेका छौं।’

विशेष