News

जसपाका अध्यक्ष प्रहरी कार्यालयमै पञ्चायती गर्न पुगेपछि इन्स्पेक्टरको रामधुलाई

जसपाका अध्यक्ष प्रहरी कार्यालयमै पञ्चायती गर्न पुगेपछि इन्स्पेक्टरको रामधुलाई

जनता समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार यादवलाई प्रहरीले भकुरेको छ। पञ्चायती (छलफल) गर्नका लागि जिल्ला प्रहरी कार्यालयमा पुगेका यादवलाई एक प्रहरी निरीक्षकले हातपात गरेको जसपाका नेता कार्यकर्ताले आरोप लगाएका छन्।

टाउकोमा चोट लाग्ने गरी अध्यक्ष यादवलाई हातपात गरेको भन्दै जसपाका नेता कार्यकर्ताहरूले राजविराजमा प्रदर्शन गरेका छन् । जसपाका कार्यकर्ताहरु जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

यादवमाथि कुटपिटको घटनाबारे सिडिओ भूपेन्द्र थापाले छलफलको क्रममा चर्काचर्की भई प्रहरी निरीक्षकले जसपा जिल्ला अध्यक्ष केदार यादवमाथि हातपात गरेको सूचना आफूले पाएको बताए । साथै यसबारे थप अनुसन्धान गरी दोषीमाथि कारबाही गरिने थापाले बताए ।

सप्तरीका डीएसपी नरेश कुमार सिंहका अनुसार अध्यक्ष यादव महदेवा गाउँपालिकाको मुद्दालाई लिएर प्रहरी कार्यालयमा छलफलमा थिए । त्यस क्रममा प्रहरी निरीक्षक नवीन थापामगरसँग उनको विवाद भएपछि प्रहरी निरीक्षक थापामगरले हातपात गरेका थिए ।

हाल थापामगर प्रहरीको नियन्त्रणमा रहेको पनि डीएसपी सिंहले बताए । अध्यक्ष यादवले भने आफूलाई थापामगरले पहिले अपशब्द प्रयोग गरेको र पछि हातपात गरेको आरोप लगाएका छन् ।


 

विशेष