News

प्रचण्डका कारण उपनिर्वाचनमा माओवादीको कन्तबिजोग, कार्यकर्ता निरास

प्रचण्डका कारण उपनिर्वाचनमा माओवादीको कन्तबिजोग, कार्यकर्ता निरास

आगामी वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा सरकारको नेतृत्व गरिरहेको पार्टी नै उम्मेदवार विहिन भएको छ। यो निर्वाचनमा सत्ता गठबन्धन भित्रको कांग्रेस, यस पहिले सत्ता गठबन्धनमा रहेको जनमत र रास्वपाका उम्मेदवार मुख्य प्रतिस्पर्धामा देखिदा सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रलाई भने चुनावले प्रत्यक्ष छोएको छैन ।

यस पटकको उपनिर्वाचनमा माओवादी कांग्रेसलाई गुन तिर्ने भुमिकामा मात्रै देखिएको छ। बारा निर्वाचन क्षेत्र नम्बर २, तनहुँ–१ र चितवन–२ मा उपनिर्वाचन हुँदैछ । जहाँ नेपाली कांग्रेस, जसपा, जनमत र रास्वपाका उम्मेदवारहरु मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन् । तर, नेकपा माओवादी केन्द्र भने यस निर्वाचनमा केवल सहयोगी भूमिकामा मात्रै देखिएको छ । उसले तीन वटै क्षेत्रमा आफ्नो पार्टीबाट उम्मेदवार उठाएको छैन । माओवादीको भुमिका कांग्रेसलाई गुन तिर्नेमा मात्रै सिमित भएको राजनीतिक विश्लेषकहरु टिप्पणी गर्छन् ।

गएको मंसिर ४ गते पहिले पाँच दलीय गठबन्धन हुँदा कांग्रेसले आफू जित्ने सम्भावना रहेका क्षेत्रमा समेत माओवादीलाई ठाउँ छाडि माओवादीका उम्मेदवार जिताउन सहयोग गरेको थियो । त्यसैले यसपटक उपनिर्वाचनमा कांग्रेसलाई सहयोग गर्न माओवादी तयार देखिएको हो।

उम्मेदवारी दर्ताको अघिल्लो दिनसम्म माओवादी केन्द्र तनहुँको जिल्ला स्तरीय नेतृत्वले तनहुँ २ बाट पार्टीका उम्मेदवार उठाउन अध्यक्ष पुष्पकमल दाहाललाई दबाब दिएको थियो। तर, दाहालले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले गुन लगाएकाले अहिले पार्टीले कुनै पनि स्थानमा उम्मेदवारी नउठाउने सन्देश पठाए।

यसअघिका निर्वाचनमा माओवादीका उम्मेदवारलाई जिताउन कांग्रेसले चितवन त्यागेकाले अहिले उसलाई मत दिन उम्मेदवार खडा नगरिएको भन्दै नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले दिएको प्रतिक्रियाले समेत माओवादी यस पटक गुन तिर्ने नीतिमा छ भन्ने कुरालाई प्रष्ट पारेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहमा दाहालले चितवन २ मा कांग्रेसलाई सघाउँदै छन् । यस्तै बारा २ मा दाहालकै आग्रहमा जसपा उम्मेदवार उपेन्द्र यादवलाई कांग्रेसले सघाउँदैछ ।

०६४ को पहिलो संविधान सभा निर्वाचनको सबैभन्दा ठूलो र अहिले सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्र प्रतिस्पर्धाबाट बाहिरिएपछि नेता कार्यकर्ता भने निरास छन्। पार्टी विभाजन र २०७० को दोस्रो संविधान सभा निर्वाचनमा शर्मनाक पराजययता माओवादी कांग्रेस वा एमालेजस्ता ठूला दलसँग गठबन्धन नगरी चुनाव लड्न नसक्ने स्थितिमा देखिएको छैन। ०६५ बाहेक अन्य उपनिर्वाचनमा विजय हासिल गरेको रेकर्ड पनि माओवादीसँग छैन।

०६४ मा विजय हासिल गरेका कास्की–२ र रोल्पा–२ मा भएको उपनिर्वाचनमा उसले आफ्नो सिट सुरक्षित गरेको थियो। त्यसबाहेक शेरबहादुर देउवा विजयी भएको कञ्चनपुर–४ मा समेत माओवादी विजयी भएको थियो। 

विशेष