News

मन्त्रालय भागवण्डामा कुरा नमिल्दा देउवा–कोईरालको बोलचाल बन्द

मन्त्रालय भागवण्डामा कुरा नमिल्दा देउवा–कोईरालको बोलचाल बन्द

माओवादी नेतृत्वको सरकारमा मन्त्रालय भागवण्डाको कुरा नमिल्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोईरालाबीच बोलचाल वन्द भएको छ। चैत १७ गतेपछि उनीहरु एकअर्काको सम्पर्कमा छैनन्।

दुई नेताबीचको असहमतिकै कारण ठूलो दलको हैसियतमा ८ मन्त्रालय पाएको कांग्रेसले ४ जनालाई मात्रै मन्त्रीमण्डलमा सहभागी गराएको छ। ती सबै संस्थापन पक्षका छन्। पार्टी सभापति देउवा पक्ष र नेता कोइराला पक्षको भागबण्डा नमिलेपछि शपथको केही घण्टाअघि मात्रै ४ केही मन्त्री शपथ लिनबाट वञ्चित भए।

संस्थापन पक्षलाई ६ र कोइराला पक्षलाई २ मन्त्रालय दिने सभापति देउवाको प्रस्तावमा कोइराला पक्षले असन्तुष्टि जनाएको छ। त्यो पक्षलेले मन्त्रीको शपथग्रहण आफ्नो पक्षका मन्त्रीलाई रोक्दै कार्यक्रमसमेत बहिष्कार ग¥यो।

कोइराला पक्षबाट मन्त्री बन्ने पक्का भएका उपसभापति धनराज गुरुङ समेतले शपथग्रहणमा नजाने बताएपछि चारजना मन्त्री मात्रै शपथका लागि गए। कोइराला पक्षले सम्मानजनक भाग भन्दै ३ मन्त्रालय मागेको छ। ३ दिँदा आफैँ भित्रकालाई चित्त बुझाउन गाह्रो देखेर कोइराला पक्षलाई २ मन्त्रालय लिइदिन देउवाले आग्रह गरेका छन्।

सभापतिको आग्रह अस्वीकार गरेको कोइराला समूह यतिबेला मन्त्रीमण्डलमा सहभागिता मात्रै होइन देउवासँग छलफल र भेटघाटमा समेत छैन।

यही विषयमा कुरा नमिलेपछि चैत १७ पछि देउवा र कोइरालाबीच भेटघाट मात्रै होइन टेलिफोन संवाद पनि नभएको कांग्रेसका एक नेताले वताए। 

कांग्रेसको गुटगत भागबण्डा नमिल्दा मन्त्रिपरिषदले अझै पूर्णता पाएको छैन। अझै ६ वटा मन्त्रालय प्रधानमन्त्री दाहालसँगै छ। हाल प्रधानमन्त्री दाहालसँग कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या, युवा तथा खेलकुद र खानेपानी तथा सरसफाइ मन्त्रालय छन्।

तीमध्ये कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र युवा तथा खेलकुद मन्त्रालय कांग्रेसको भागमा परेका छन्। वन तथा वातावरण मन्त्रालय जसपाको भागमा छ। खानेपानी तथा सरसफाइ मन्त्रालय जनमत पार्टीको भागमा परेको भए पनि सरकार विस्तारकै दिन मोहम्मद अब्दुल खानले मन्त्रीबाट राजीनामा दिएपछि त्यो पनि खाली छ। 
 

भागवण्डा

विशेष