News विदेश

ट्रम्प विरुद्ध मुद्दा हाल्ने पोर्न स्टारलाई नै अदालतले तिरायो १ करोड ६० लाख

ट्रम्प विरुद्ध मुद्दा हाल्ने पोर्न स्टारलाई नै अदालतले तिरायो १ करोड ६० लाख

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँगको अवैद्य सम्वन्ध गुपचुप राख्न घुस खुवाईएको भनिएकी पोर्न स्टार स्टोर्मी ड्यान्यल्सलाई अदालतले १ लाख २२ हजार डलर अर्थात् (एक करोड ६०  लाख नेपाली रुपैयाँ) जरिवाना गरेको छ।

लस एन्जलसको अदालतले मंगलबार डेनियलको विरुद्धमा फैसला सुनाउँदै त्यो रकम जरिवाना गरेको हो। यो रकम ट्रम्पको कानुनी शुल्कको रूपमा दिइनेछ। उनले आफूलाई ट्रम्पले पछ्याउन नछाडेको  र आफ्नो बच्चालाई खतरा रहेको भन्दै सन् २०१८ मा  मानहानीको मुद्दा दायर गरेकी थिइन्।

उनका वकिल माइकल एभेनाट्टीले उनको सहमति बिना मुद्दा दायर गरेका थिए।  चोरी गरेको आरोपमा एभेनाट्टी हाल जेलमा छन्। यसअघि ट्रम्प न्यूयोर्कको अदालतमा हाजिर भएर  फौजदारी मुद्दामा बयान दिएका छन्।  ३४ बुँदे अभियोगको प्रतिवादमा बयान दिँदै उनले आफू दोषी नभएको जिकिर गरेका छन्। 

डोनल्ड ट्रम्पले झुटा व्यावसायिक विवरण तयार पारेको, आफूसँगको सम्बन्धबारे मौन बस्न स्टोर्मी ड्यान्यल्स नामक पोर्न स्टारलाई ठूलो रकम दिएको भनिएका बिषयमा लगाइएका विभिन्न अभियोगहरूमा आफू दोषी नरहेको दाबी गरेका छन्।

सन् २०१६ मा पोर्न स्टारलाई रकम दिएको विषयमा भैरहेको अनुसन्धानमा बयान दिन ट्रम्प अदालतमा हाजिर भएका हुन्। यसका साथै सन् २०१६ को निर्वाचनलाई प्रभावित बनाउन ठूलो धनराशी खर्च गरेको अभियोग पनि ट्रम्पलाई लागेको छ।

गलत सूचना दबाउन त्यस्तो गैरकानूनी योजना चालेको अभियोजनकर्ताको दाबी छ। झण्डै एक घण्टा बयान दिएर ट्रम्प फ्लोरिडा फर्किएका छन्। अटलान्टा र जोर्जियामा सरकारी अधिकारीहरुसँग अतिरिक्त मत संकलन गर्न भनेको टेलिफोन वार्ताको विषयमा पनि ट्रम्पमाथि मुद्दा लागेको छ।

सन् २०२४ को राष्ट्रपति चुनावसमेत लड्न लागेका ट्रम्पले आफूलाई लागेको आरोपमा राजनीतिक अभिप्राय रहेको टिप्पणी गरेका छन्।

अमेरिकी इतिहासमा पहिलो पटक अमेरिकी पूर्वराष्ट्रपतिलाई अदालतमा उभ्याइएका डोनाल्ड ट्रम्पले आफूलाई लागेको आरोप र विभिन्न अनुसन्धान र दुईवटा अघिल्लो महाअभियोगमा आपत्ति जनाएका छन्। 

डोनाल्ड ट्रम्प

विशेष