News

एउटासँग बिहे गर्यो, अर्कोसँग पोइल गयो, यो सरकारले केही गर्दैनः पन्त

एउटासँग बिहे गर्यो, अर्कोसँग पोइल गयो, यो सरकारले केही गर्दैनः पन्त

नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारले १०० दिनको उपलब्धि भनेर ३७ बुँदा सार्वजनिक गरे पनि त्यसमा उल्लेखनीय केही पनि नभएको पन्तले बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले सरकारको १०० दिनको उपलब्धि भ्रष्टाचार र दिशाहीन भएको बताए। ‘सरकारको १०० दिनको उपलब्धि भ्रष्टाचार हो, दिशाहीनता हो, अन्योल हो’ उनले भने–‘आजको प्रधानमन्त्रीसँग देशलाई कहाँ लैजाने थाहा छैन ।’

‘३७ बुँदा पढ्दा के पढेको भन्ने नै बुझिँदैन । यस्तो योजना तर्जुमा गरिएको छ, यस्तो निर्देशन दिइएको छ भन्ने जस्ता कुरा छन’ उनले भने, ‘न किसानका समस्या छन्, न मुलुकको गम्भीर अवस्थाबारे भिजन छ न गरेको कामको उल्लेख छ ।’

१०० दिन पूरा हुँदासम्म मन्त्रिपरिषदले पूर्णता पाउन नसकेको भन्दै उनले अहिलेसम्मको उपलब्धि सिद्धान्तहीन र नीतिहीन भएको बताए । 

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई पूर्णता दिन नसकेकोप्रति उनले आलोचना गरे। ‘देशमा किसानहरुको समस्याबारे चर्चा छ, मुलुकको अहिलेको गम्भिर राजनीतिक आर्थिक अवस्थाबारे न कुनै भिजन छ । अहिलेको सरकारले केही काम गरेको छैन’ उनले भने–‘एउटासँग बिहे गर्यो, अर्कोसँग पोइल गयो । अनि वरिपरि आठ नौ भाइ जम्मा गरेर टिकेको यो सरकार । सय दिन नाघिसक्दा पुरा मन्त्रिपरिषद् त बनाउन सकेको छैन । त्यस्तो सरकारले के गर्ला ?’

उनले सरकार नीतिहिन, विचारहिन, कार्यक्रमहिन, सिद्धान्तहिन भएको बताए ।

उनले सरकारको उपलब्धिमा यो बीचमा कति घाम लाग्यो, कति पानी पर्यो ? कति बच्चा जन्मे भन्ने चाहीँ लेख्न छुटाएको भन्दै कटाक्ष गरे ।
 

विशेष