News

अश्लील भिडियो सार्वजनिक भएपछि सांसद खानलाई निलम्बन गर्न अभियानको माग

अश्लील भिडियो सार्वजनिक भएपछि सांसद खानलाई निलम्बन गर्न अभियानको माग

सामाजिक सञ्जालमा अश्लिल हर्कत गर्ने डा. सीके राउत नेतृत्वको जनमत पार्टीका सांसद अब्दुल खानलाई निलम्बन गर्न राष्ट्रिय एकता अभियानले माग गरेको छ। सांसद खानले कुनै महिलासँग भर्चुअल माध्यममा अश्लील हर्कत गरेको भिडियो अहिले व्यापक चर्चामा छ।

शुक्रबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र बुझाउँदै अभियानले उनलाई तत्काल निलम्बन गरेर अनुसन्धान अगाडि बढाउन माग गरेको हो। निवर्तमान खानेपानी तथा सरसफाइ मन्त्रीसमेत रहेका खानले हालै पदबाट राजीनामा दिएका थिए।

सांसदजस्तो सार्वजनिक जीवनमा रहेका व्यक्तिको यस्तो हर्कत क्षमायोग्य नरहेको अभियानले ज्ञापन पत्रमा उल्लेख गरेको छ। ‘जनमत पार्टीका समानुपातिक सांसद तथा निवर्तमान खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानले एक महिलासँग गरेको अश्लील हर्कतको श्रव्य–दृश्य सामग्री (भिडियो) अहिले सामाजिक सञ्जालहरूमा यत्रतत्र भाइरल भइरहेको छ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘उहाँको यस हर्कतले नेपालको संसदीय व्यवस्था, संघीय लोकतान्त्रिक गणतन्त्र एवम् समग्र राजनीतिक प्रणालीकै शीर निहुरिएको छ।’

सार्वजनिक जीवन धारण गरेका व्यक्तिहरूको निजी जीवन पनि सरल र आदर्शवान हुनुपर्ने भन्दै उल्लेख गर्दै ज्ञापन पत्रमा भनिएको छ–‘सार्वजनिक जीवन धारण गरेका व्यक्तिहरूका यस्ता अनैतिक हर्कतले समाजलाई विकृत र विसंगत बनाउन अझ बढी मलजल गरिरहेको छ।’

ज्ञापन पत्र बुझाउन अभियानका अध्यक्ष विनय यादवसहित उपाध्यक्ष सुनीता साह, केंद्रीय सदस्य चन्द्र यदुवंशी, मिना देवी साह, राष्ट्रीय विधार्थी परिषद का महासचिव पप्पू यदाव लगायत को टोली सभामुख निवास गएको थियो।


 

अब्दुल खान राष्ट्रिय एकता अभियान अश्लिल

विशेष