News

तुलसी सहकारीका तीनजना सञ्चालक ठगी आरोपमा कारागार चलान

तुलसी सहकारीका तीनजना सञ्चालक ठगी आरोपमा कारागार चलान

बचतकर्ताको निक्षेप अपचलन गरेको आरोप लागेको विराटनगरस्थित तुलसी बहुउद्देश्यीय सहकारीका तीनजना सञ्चालकलाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ।

सहकारीकी उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र प्रबन्धक मन्दिप खवासलाई जिल्ला अदालत मोरङका न्यायाधीश प्रकाश कोइरालाको इजालशले प्रतिवादीहरूलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो।

जिल्ला सरकारी वकिलको कार्यालयले मंगबार पक्राउ परेका तीन जना र सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित ८ जना सञ्चालकहरू विरुद्ध ठगी मुद्दा दायर गरेको थियो।

अध्यक्ष शर्मा, सञ्चालक समितिका सदस्यहरू बन्टी अधिकारी, आदित्यराज भट्टराई, निर्मला पोखरेल भट्टराई, छविलाल विश्वकर्मा, पक्राउ परेका तुलसी सहकारीका क्षेत्रीय प्रबन्धक मन्दिप खवास, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई ठगीमा मुद्दा दायर गरेको थियो।

अध्यक्ष शर्मासहितका ५ जना फरार सूचीमा छन्। सहकारी र सञ्चालक विरुद्ध १ हजार ३ सय ७ जनाले मोरङ प्रहरीमा उजुरी दिएका छन् । बचतकर्ताको ६७ करोड ७६ लाख २१ हजार २६८ रुपैयाँ हिनामिना गरेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको छ। 

अध्यक्ष शर्माले १६ करोड  ९७ लाख ४२ हजार ५४० रुपैयाँ सहकारीको स्रेस्तामा नै नचढाई हिनामिना गरेको अभियोग पत्रमा उल्लेख छ। शर्माले सहकारीको निक्षेप ३३ वटा निजी कम्पनी र जग्गामा लगानी गरेको पाइएको छ। 

शर्माद्वारा सञ्चालित निजी खाद्यजन्य, मोटर, इलेक्ट्रिक, चिउरा मिल, जुत्तादेखि मिडिया कम्पनीमा पनि लगानी गरेको पाइएको छ। जग्गामा पनि शर्माले लगानी गरेको पाइएको छ।

तुलसी सहकारी

विशेष