सिंहदरबारको फोहोर नउठाउने बालेन्द्रको चेतावनी, ‘आफ्नो नालायकी छोप्ने स्टन्ट!’
काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आजबाट सिंहदरबारको फोहोर नउठ्ने वताएका छन्। उनले ट्वीटरमार्फत सिंहदरबारको फोहोर नउठ्ने घोषणा गरेका हुन।
उपत्यकाको फोहोर नुवाकोट र धादिङमा व्यवस्थापनका लागि संघीय सरकार र तिनका निकायले असहयोग गरेको भन्दै मेयर साहले यो घोषणा गरेका हुन्। साह मेयरमा निर्वाचित भएलगत्तै धादिङको बन्चरेडाँडा र नुवाकोटको सिसडोलमा फोहोर फ्याँक्ने काममा स्थानीय दलका कार्यकर्ताले नै अवरोध गरेका थिए।
यस पटक पनि अवरोध सुरू हुन थालेको छ। यस्तोमा संघीय सरकारको सहयोग खोजिरहेका बालेन्द्रले एक्लै परेपछि आक्रोश ब्यक्त गरेका हुन। खास गरी पछिल्लो समय थापाथली र तीनकुनेको बागमती किनारमा अवैध रूपमा बसेका सुकुम्बासी हटाउन सरकारले सहयोग नगरेपछि उनको आक्रोश उत्कर्षमा छ।
मेयर साहले देश सफा गर्नु परे सिंहदरबारका नेतालाई नै सिसडोलमा डम्प गरेपछि मात्रै सम्भव भएको टिप्पणी गरेका छन्। ‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन’ उनले लेखेका छन्–‘साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’
उनको यो टिप्पणीपछि ट्वीटरमा तिव्र आलोचना भईरहेको छ। डा. रामेश कोईरालाले ‘फोहोर व्यवस्थापन पालिकाको काम हो कि संघीय सरकारको?’ भन्दै प्रश्न गरेका छन् । ‘महानगरले सिंहदरबारको मात्र फोहोर उठाउने हो कि पालिकाभित्रका घरको पनि? मेरोमा पालिका आउन्न, पालिकाले घुस खाएर पालेको नेप्सेम्याक आउँछ। डेढवर्षमा नेप्सेम्याक हटाउनु भो? ठूला गफ नदिनुस् के, फोहोरको राजनीति र घुस सबैले बुझ्छन्।’– उनले प्रतिक्रिया दिएका छन्।
यसैगरी, शशांक नाममा ट्वीटर प्रयोगकर्ताले आफनो नालायकी छोप्न स्टन्ट नगर्न चेतावनी दिएका छन्। ‘बिम्ब मात्र हो भने सहमति छ! नत्र, आफ्नो नालायकी छोप्ने तपाईंको अर्को स्टन्ट हो! फोहर ब्ववस्थापन महानगरको काम हो ! आफ्नो जिम्मेवारी पूरा नगर्ने उल्टै संघिय सरकार संग आन्दोलन गर्ने?’ उनले लेखेका छन्–‘एक बर्ष हुन लाग्यो विकल्प किन दिन सक्नु भएन? आन्दोलनको काम हामिमा छोड्नुस तपाईं सरकार चलाउनुस!’