News

राँके जुलुसमा प्रहरीले गोली चलायो, प्रहरीसहित दुई दर्जन घाइते

राँके जुलुसमा प्रहरीले गोली चलायो, प्रहरीसहित दुई दर्जन घाइते

कोशी प्रदेश नामकरणको विरोधमा झापामा निकालिएको राँके जुलुसमा प्रहरीले गोली चलाएको छ। गोली लागेर दुई जनासहित दुई दर्जनवढी घाइते भएका छन् । घाईते हुनेमा प्रहरी समेत छन्।

मंगलबार साँझ पहिचान पक्षधर विभिन्न संघसंस्थाले दमकमा निकालेको राँके जुलुसका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । झडपमा प्रदर्शनकारीको ढुंगा लागेर इलाका प्रहरी कार्यालय, दमकका डिएसपीसहित दस जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रदेशको नाम ‘कोशी’ खारेजीको माग गर्दै मंगलबार साँझ निकालिएको राँके जुलुस शान्त पार्न खोज्दा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो।

पहिचान पक्षधरले राँको, ढुंगा, इँटाले प्रहरीलाई आक्रमण गर्न थालेपछि स्थिति असामान्य बनेको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले कम्तिमा डेढ दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो।

सोही क्रममा प्रहरीले प्रहार गरेको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन्। किरात लिम्बूवान प्रदेश नामांकन अभियानका केन्द्रीय संयोजक प्रेमदीप लिम्बूका अनुसार इलाम चुलाचुली घर भएका गजेन्द्र फागो र बिर्तामोड घर भएकी निर्मला लिङ्देनलाई गोली लागेको हो। फागोको घुँडामा र लिङ्देनको हातमा गोलीको छर्रा लागेको छ।

उनीहरूलाई दमकबाट थप उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल लगिएको छ। अरू घाइतेको स्थानीय आम्दा, लाइफलाइन र दमक अस्पतालमा उपचार भइरहेको बताइएको छ।

पहिचानवादीले कोशी प्रदेश नाम हटाएर बहुपहिचानका आधारमा नामांकन गर्न माग गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएका छन्। पहिचान पक्षधरले मंगलबार राँके जुलुससँगै राजमार्गमा चलेका निजी तथा सार्वजनिक यातायातका साधनमाथि तोडफोड पनि गरेका थिए। झडपका कारण दमक बजार करिब २ घन्टा अशान्त बनेको थियो।

प्रदर्शनकारीले बालेको राँकोले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले गोली चलाएको जनाईएको छ। 

विशेष