News

अर्घाखाँचीमा आगोमा जलेर तीन जनाको मृत्यु

अर्घाखाँचीमा आगोमा जलेर तीन जनाको मृत्यु

घरमा लागेको आगो निभाउने क्रममा जलेर अर्घाखाँचीमा तीन जनाको मृत्यु भएको छ। भूमिकास्थान नगरपालिका ४ का पदम बेल्वासेको घरमा लागेको आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका तीनजनाको वुधवार मृत्यु भएको हो। 

भूमिकास्थान–२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासेको मृत्यु भएको प्रहरीले जनाएको छ। पिताम्बरको उपचारका लागि लैजाँदै गर्दा पाल्पाको  रामपुरमा, पदमको चितवनको नारायणघाट नजिक र घनश्यामको उपचारका क्रममा काठमाडौँ स्थित कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको हो।

मङ्गलबार दिउँसो भूमिकास्थान–२ तिरतिरे खोलागाउँका पदम बेल्वासेको घरमा आगो लागेको थियो। निभाउने क्रममा पाँचजना घाइते भएका थिए। आगलागीबाट २६ वर्षीया अस्मिता बेल्वासे र ३६ वर्षीय माधव बेल्वासे पनि घाइते छन्। माधवको किर्तिपुर अस्पतालमै गम्भिर अवस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालका अनुसार जिल्ला अस्पताल सन्धिखर्क र पाल्पामा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो।

विशेष