News

टोपबहादुरले संसद सचिवालयमा पठाए विरामी विदा

टोपबहादुरले संसद सचिवालयमा पठाए विरामी विदा

वैशाख २० गतेदेखि फरार भएका एमाले सांसद टोपबहादुर रायमाझीले आफू बिरामी परेको पत्र संसद सचिवालयलाई पठाएका छन्। रायमाझीले पठाएको पत्र संसद सचिवालयमा पुगेको छ। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीको पत्र सचिवालयले दर्ता भने गरेको छैन। 

अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएपछि फरार भएका हुन्। अर्घाखाँखाँचीको एक कार्यक्रममा विशेष अतिथि बनेर पुगेका उनले पक्राउ पूर्जीबारे जानकारी पाएपछि कानुनलाई सहयोग गर्ने बताएका थिए। तर अहिलेसम्म प्रहरीको सम्पर्कमा आउनुको साटो उनी फरार छन्।

राति ९ बजेको फ्लाइटमा काठमाडौं आउने टिकट भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली रायमाझीलाई पक्राउ गर्न भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलको आन्तरिक उडानतर्फको कक्षमा गएर बसेको थियो। यता, रुपन्देहीकै प्रहरीको टोली बुधबार साँझ उनी नजिक पुगिसकेको थियो।

आफूलाई पक्राउ गर्न लागेको रायमाझीले खबर पाएपछि उनले बुटवलमै रहेका प्रहरी महानिरीक्षक वशन्त कुँवरलाई टेलिफोन गरे। रायमाझीले कुँवरलाई आफैँ प्रहरी कार्यालयमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्ने बताए। 

त्यसपछि प्रहरी ब्याक भयो। तर रायमाझी अर्घाखाँचीबाट विमानस्थल आउँदै गर्दा उनका छोरा सन्दीपलाई प्रहरीले बुटवलबाट पक्राउ गर्यो। छोरो पक्राउ परे लगतै उनको मोबाइल बन्द भयो। रायमाझी फरार भए।
 
अहिले रायमाझी भगाएको आरोप प्रहरीलाई लाग्न थालेको छ। तर रायमाझी भने आईजीपीकै कारण भागेका पाईएको छ। रायमाझी अहिले भारत भागेको आशङ्का गरिएको छ । प्रहरीले अदालतमा मुद्दा नबुझाउने समयसम्म भारतमै लुकेर बस्ने र प्रहरीले मुद्दा बुझाएपछि सोझै अदालतमा उपस्थित भएर धरौटीमा रिहा हुने योजनामा उनी भारत भागेको हुनसक्ने प्रहरीको आशङ्का छ ।

यो प्रकरणमा प्रहरीले अहिलेसम्म पूर्वगृहमन्त्री बालकृष्ण खाँड, उनको सहयोगी नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप, पूर्व गृहसचिव टेकनारायण पाण्डे, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, काठमाडौंको टोखाका रामशरण केसी र मोरङको बेलबारीका गोविन्द चौधरीलाई पक्राउ गरेको छ।

टोपवहादुर, बादलका छोरा प्रतिक, इन्द्रजीतका छोरा निरजसहित ११ जनाबिरुद्ध पक्राउ पूर्जी जारी भएको छ। 

भुटानी शरणार्थी

विशेष