News

रास्वपा सरकारमा जाने संकेत, स्वर्णिमलाई अर्थमन्त्री बनाउन छलफल

रास्वपा सरकारमा जाने संकेत, स्वर्णिमलाई अर्थमन्त्री बनाउन छलफल

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने/नहुने विषयमा आगामी शुक्रवार निर्णय लिने भएको छ। सोमबार बसेको केन्द्रीय समितिको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने÷नलिनेबारे छलफल भएपछि पार्टीले प्रधानमन्त्रीको बाटो कुरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल साविकका मन्त्रलाय फिर्ता दिन, नीति तथा कार्यक्रम पुर्नलेखन गर्न र जुनसुकै भ्रष्टाचारका फाईल खोल्न तयार भएकाले रास्वपा सरकारमा जाने सम्भावना वढेको छ। स्रोतका अनुसार यसबारेको निर्णय लिनका लागि सभापति रवि लामिछानेले आगामी शुक्रबार बस्ने बैठकमा सरकारमा सहभागी हुादाका फाइदा र बेफाइदाबारे सूची तयार गरेर उपस्थित हुन सांसदहरूलाई निर्देशन दिएका छन्।

शुक्रबार बस्ने केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले निर्णय गर्ने महासचिव मुलुक ढकालले बताए। रास्वपा सरकारमा गए तनहुँ–१ बाट निर्वाचित सांसद डा स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउने तयारी छ।

अर्थतन्त्रमा समस्या देखिएका बेला आफ्नो दलमा अर्थतन्त्रसम्बन्धी जानकार डा वाग्ले सांसद चुनिएर आएको भन्दै ढकालले उनलाई अर्थमन्त्री बनाउने विषयमा आफूहरू सकारात्मक हुने प्रतिक्रिया दिएका छन्।

सरकारलाई दिएको समर्थन फिर्ता लिन सकिने बताएका रास्वपा साभापति रवि लामिछानेले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेका थिए। छलफलमा प्रधानमन्त्री दाहालले रास्वपालाई सरकारमा आउन आग्रह गरेका थिए। यदि सरकारमा सहभागी भएको खण्डमा डा वाग्लेलाई अर्थमन्त्री बनाउने प्रवक्ता ढकालको भनाइ छ।

सोमबार बसुन्धरामा बसेको रास्वपा केन्द्रीय समितिको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने वा कायमै राख्नेबारेमा छलफल भएको थियो। यद्यपि त्यस विषयमा निर्णयमा नपुगेपछि शुक्रबारसम्म कुर्ने पक्षमा रास्वपा पुगेको हो।

प्रधानमन्त्री तयार भएको अवस्थामा स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउँदा आफूहरू खुसी हुने प्रवक्ता ढकालको भनाइ थियो। गत वैशाख १० गतेको उपनिर्वाचनपछि रास्वपाका २१ जना सांसदहरू छन्।

मङ्सिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनबाट चौथो ठूलो दल बनेको रास्वपा चुनावपछि बनेको दाहाल नेतृत्वको सरकारमा उपप्रधानसहित तीन मन्त्री र एक राज्यमन्त्री सहित सहभागी भएको थियो। सरकारमा सहभागी भएको एक महिनामै रास्वपा सभापति रवि लामिछानेले नागरिकता प्रकरणमा सांसद पद गुमाए।

त्यसपछि उनले उपप्रधान तथा गृहमन्त्रीबाट राजीनामा दिए। नेपाली नागरिकता पुनः प्राप्त गरेका लामिछानेलाई फेरि गृहमन्त्री दिन प्रधानमन्त्री तयार नभएपछि रास्वपा माघ २२ गते सरकारबाट बाहिरिएको थियो। 
 

स्वर्णिम वाग्ले

विशेष