News खेल

एसीसी प्रिमिअर कपः रोकिएको खेल भोलि हुने (विस्तृतमा)

एसीसी प्रिमिअर कपः रोकिएको खेल भोलि हुने (विस्तृतमा)

वर्षाले खेल बिथोलिएपछि नेपाल र यूएई बीचको एसीसी प्रिमियर कपको फाइनल खेल भोलि हुने भएको छ। खेल जुन अवस्थामा पुगेर रोकिएको थियो, त्यहीँबाट सुरु हुने जनाईएको छ।

खेल अवरुद्ध भएको बेला पहिलो ब्याटिङ गरिरहेको यूएई ९ विकेट गुमाएर १०६ रनको सामान्य अवस्थामा छ। खेलमा उत्कृष्ट बलिङ गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली भने बलियो अवस्थामा छ।

२८ ओभरको खेल चलिरहेको बेला पुनः वर्षा भएपछि खेल रोकिएको थियो। जानकारी अनुसार मङ्गलवार ‘रिजर्भ डे’ को खेलमा यूएईले १०६–९ बाट खेल थाल्नेछ। क्रिजमा मार्थिक मैयप्पन १ रन बनाएर खेलिरहेका छन्। अन्तिम खेलाडीका रूपमा जुनेद सिद्धिकी ब्याटिङ गर्न आउनेछन्।

नेपाली स्पिनर ललित नारायण राजवंशीले बलिङ गर्नेछन्। उनी ह्याट्रिक विकेटको सङ्घारमा छन्। यूएईले मध्यम लक्ष्य दिएकोले बिहानीको मौसममै नेपालले चाँडै खेल सकाउने अनुमान गरिएको छ।

तर यदि भोलि पनि वर्षाले खेल बिथोलिएर नेपालको ब्याटिङ सम्भव नहुने अवस्था सिर्जना भयो भने चाहिँ सुपर ओभर बाट खेलको निर्णय हुनेछ। सुपर ओभर एक पटक टाई भएमा अर्को एउटा सुपर ओभर थपिनेछ।

तर भोलि खेलै नहुने अवस्था आयो भने चाहिँ वरीयताको आधारमा नेपाल स्वतः विजेता हुनेछ। किनकि एक दिवसीय वरीयतामा नेपाल १४औँ तथा यूएई १९ औँ नम्बरमा छ।

सोमवार स्पिनर ललित नारायण राजवंशीले ३, करण केसीले २ तथा सोमपाल कामी र गुलशन झाले १÷१ विकेट लिएपछि यूएई मध्यम स्कोरमा समेटिएको थियो। १६ ओभरको खेल सकिँदा वर्षाले केही बेर खेल रोकिँदासम्म यूएईका ५ खेलाडी आउट भइसकेका थिए भने टोलीले ६० रन मात्र जोड्न सकेको थियो।

तीव्र गतिका बलर कामीले चौथो ओभरको पहिलो बलमा यूएईका कप्तान मोहम्मद वासिमलाई आउट गरेपछि यूएईले विकेट गुमाउन थाल्यो। एक चौका र एक छक्का प्रहार गरेर ११ रन जोडेका वासिमको राजवंशीले उडेर शानदार क्याच लिएका थिए।

त्यसपछि यूएईका लयमा देखिएका ब्याटर बृत्य अरविन्दको विकेट करण केसीले लिए। ४.५ ओभरमा ‘एज’ लागेपछि विकेट किपर आसिफ शेखले उनको बल सहजै क्याच गरेका थिए। अरविन्दले ८ रन मात्र बनाए।

करण केसीले नै अर्का भरपर्दा ब्याटर आर्यन लाक्रालाई आउट गरेर यूएईलाई सङ्कटमा पारिदिएका थिए। केसीको बल खेल्ने धुनमा १२ रन मात्र बनाएका लाक्रा ८.१ ओभरमा आरिफ शेखबाट समातिएका थिए।

स्पिनर राजवंशीले रमिज सहजादलाई १० औँ ओभरको पहिलो बलमा गुलशन झाद्वारा क्याच आउट गराए। यति बेला यूएईले ३५ रनका लागि ४ विकेट गुमाइसकेको थियो। आसिफ खानले एउटा इन्डबाट खेल सम्हालिरहे। अनुभवी रोहन मुस्तफाले क्रिजमा टिकेर खेल्न भरपुर प्रयास गरेका थिए। तर १५ बलको सामना गरेर खेलिरहेका बेला उनले सन्दीप लामिछानेको बल भने झेल्न सकेनन्।

लामिछानेको ‘फुल टस’ खेल्ने क्रममा २ रन मात्र जोडेका मुस्तफा कुशल मल्लबाट ‘शर्ट लेग’मा सजिलै समातिन पुगेका थिए। त्यसपछि आसिफ खान र बसिल हमिदले छैटौँ विकेटका लागि ३९ रनको साझेदारी गरेर खेल केही समय नियन्त्रणमा राखे। यो नै यूएईको ठूलो साझेदारी थियो।

तर गुलशन झाले २२.५ ओभरमा यो जोडीलाई तोडिदिए। उनले हमिद (१० रन) लाई बोल्ड गरेका हुन्। आयान खानलाई लामिछानेले आउट गरे। ‘वाइड बल’ खेल्ने चक्करमा खानले (५ रन) मल्ललाई विकेट बुझाउन पुगेका थिए।

यूएईको बाँकी भरोसालाई स्पिनर राजवंशीले समाप्त पारिदिए। क्रिजमा डटेका एक मात्र खेलाडी आसिफ खान अर्धशतकको नजिक पुगेका थिए। राजवंशीको बलमा ठूलो शट् खेलेर अर्धशतक पूरा गर्ने क्रममा उनी प्वाइन्टमा आरिफबाट समातिन पुगे।

५४ बलको सामना गरेका खानले ७ चौका र १ छक्काको मदतले ४६ रन बनाएका थिए। खान २७.२ ओभरमा आउट भएका थिए। त्यसको अर्को बलमा राजवंशीले त्यही शैलीमा आरिफकै हातबाट जहुर खानको पनि विकेट लिए।

अब यूएईको स्थिति १०६–९ थियो। तर यही बेला फेरी वर्षा हुँदा खेल रोकिन पुग्यो। 
बीबीसीको सहयोगमा

एसीसी प्रिमियर कप

विशेष