News

ओलीको सम्पर्कमा आए टोपबहादुर रायमाझी

उनले भने– प्रहरीले दुब्र्यवहार गर्न खोज्यो, सिधै अदालतमा जान्छु

ओलीको सम्पर्कमा आए टोपबहादुर रायमाझी

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोप लागेपछि फरार भएका एमाले सचिव टोपबहादुर रायमाझी अध्यक्ष केपी शर्मा ओलीको सम्पर्कमा आएका छन्।

पार्टीले सचिव पदबाट निलम्वन गर्ने निर्णय गरेपछि नजिकका मान्छेहरु मार्फत रायमाझी आफनो सम्पर्कमा आएको ओलीले वताए । जिल्ला अदालत, काठमाडौंले वैशाख २० गते पक्राउ पूर्जी जारी गरेपछि रायमाझी फरार छन्।

संसद सचिवालयलाई पत्र लेखेर आफु उपचारमा रहेको जानकारी गराएपनि उनी फरार भएर भारतको लखनउ परेको प्रहरीको आशंका छ। बिहीबार सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले निलम्बनको निर्णयपछि रायमाझीका निकट मान्छेसँग कुरा भएको बताए ।

‘त्यो फैसला सुनिसकेपछि उहाँको निकटका मान्छेबाट कतैबाट मलाई फोन आयो । के गर्ने हो भनेर’ ओलीले भने –‘मैले प्रहरी समक्ष हाजिर हुन सुझाव दिएँ।’ ‘पार्टीले फैसला गरेको सुनिहाल्नुभयो होला । हाम्रो नीति यस्तो छ भनेर बताइदिनुहोस् उहाँलाई । उहाँले आफूलाई प्रहरी समक्ष प्रस्तुत गर्नु राम्रो हुन्छ’ आफुले भनेको कुरा सुनाउँदै ओलीले भने, ‘हाम्रो सुझाव यो छ र पार्टीको निर्देशन पनि त्यही छ । यो कुरा उहाँलाई सुनाइदिनुहोस् भनेर उहाँका निकटका भनिएका मान्छेहरुलाई भनेको थिएँ ।’

रायमाझीले भने सिधै अदालतमा हाजिर हुने सन्देश पठाएको ओलीले केन्द्रिय सदस्यहरुलाई जानकारी दिएका छन्। प्रहरीले अभद्र व्यवहार गर्न खोजेकाले सिधै अदालतमै उपस्थित हुने विचार गरेको भन्दै रायमाझीले आफुलाई सुनाएको ओलीको भनाई छ। 

भुटानी शरणार्थी

विशेष