News

विकास वजेटको १ प्रतिशत आविष्कार कोषका लागि छुट्याउने सहमति

महावीर पुनको धर्ना स्थगित

विकास वजेटको १ प्रतिशत आविष्कार कोषका लागि छुट्याउने सहमति

सरकारसँग ७ वुँदे सहमति गर्दै राष्ट्रिय आविष्कार  केन्द्रका अध्यक्ष महावीर पुनले माईतिघरमा शुक्रवारदेखि सुरु गरेको धर्ना स्थगित गरेका छन् । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र आविष्कार केन्द्रका अध्यक्ष पुनले सोमबार सहमतिपत्रमा हस्ताक्षर गरेपछि उनको आन्दोलन पनि रोकिएको हो।

सरकार अनुसन्धान तथा विकास, नवप्रवर्तन र आविष्कारका लागि विकास बजेटको एक प्रतिशत रकम छुट्याउन सहमत भएको छ । सहमतिअनुसार अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरु एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्ने छ ।

६० दिनभित्र कोषको व्यवस्थापन तथा सञ्चालनका लागि सरकारले विधेयकको मस्यौदा तयार पार्ने र संघीय संसदको आउँदो अधिवेशनबाट विधेयक पास गर्ने सहमति भएको छ भने आगामी आर्थिक वर्ष पुँजीगत (विकास) बजेटको एक प्रतिशत रकम कोषमा जम्मा गर्ने पनि सहमतिमा उल्लेख गरिएको छ ।

अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारलाई प्रवर्द्धन गर्न आवश्यक नीतिगत, कानुनी एवं संस्थागत प्रबन्ध गर्ने, आविष्कारबाट उत्पादित वस्तु तथा सेवालाई आवश्यक पर्ने अनुमति, लाइसेन्स लगायतसँग सम्बन्धित कानुनी सुधारमा सहजीकरण गर्ने पनि सहमतिमा उल्लेख छ ।

सरकारसँग भएको सहमतिसँगै आविष्कार केन्द्रका अध्यक्ष पुनले धर्ना पनि स्थगित गरेका छन्।
 

महावीर पुन आविष्कार केन्द्र

विशेष