News

रवि लामिछानेले प्रधानमन्त्रीलाई किन भेटे ?

रवि लामिछानेले प्रधानमन्त्रीलाई किन भेटे ?

८७५ जना नेपालीलाई भुटानी शरणार्थी बनाएर वेच्ने प्रयास गरेको आरोपमा अनुशन्धान उत्कर्षमा पुगेका वेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन् ।

भेटवार्तामा लामिछानेले नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेका प्रकरण र अघि बढेका अनुसन्धानको विषय उठाउँदै भ्रष्टाचारविरूद्धको लडाइँमा दह्रोसँग खुट्टा टेक्न आग्रह गरेका थिए।

प्रधानमन्त्री दाहालले आफू नेतृत्वको सरकारले भ्रष्टाचारका फाइल खोलेको र यसलाई टुंगोमा पु¥याउने बताएका थिए। ‘तपाईंहरूले भ्रष्टाचारका प्रश्न उठाउनुभयो, कुरा राख्नुभयो। मैले त फाइल नै खोलेँ, काम नै गर्न सुरू गरेँ,’ प्रधानमन्त्रीले रविलाई भनेका कुरा उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले भने, ‘सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायका एजेन्डा लिएको छ, यसमा सरकारलाई सहयोग गर्नुहोस्।’

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पहिलो पटक लामिछानेले प्रधानमन्त्री दाहाललाई भेटेका हुन्। उनले यस प्रकरणलाई निष्कर्षमा पु¥याउँदा सरकार ढल्छ, समर्थन गुम्छ भने पनि तयार रहन र पुराना फाइल खोतल्दै भ्रष्टाचार निवारणमा नयाँ मानक स्थापित गर्न आफूले सुझाव दिएको बताए।

उनले भ्रष्टाचारका फाइल खोल्ने सबालमा प्रहरी प्रशासनलाई कुनै पनि हस्तक्षेप नहोस् भनेर ध्यानाकर्षण गराएका थिए। 

विशेष