News खेल

यूएईविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, एसिया कप खेल्ने सपना बोकेर मैदानमा

यूएईविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, एसिया कप खेल्ने सपना बोकेर मैदानमा

एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध टस जितेको छ। टस जितेपछि नेपालले पहिले फिल्डिङ गर्ने भएको छ।

आजको खेलमा नेपाली टिममा एकजना खेलाडी परिवर्तन गरिएको छ। टिममा दीपेन्द्रसिंह ऐरीको स्थानमा गुल्शन झा ल्याइएको छ। 

नेपाली टिममा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुल्शन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी छन्।

नेपाल एसिया कप २०२३ मा खेल्ने सपना बोकेर मैदानमा उत्रिएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईलाई पराजित गर्न सके नेपालको एसिया कप खेल्ने सपना पूरा हुनेछ।

त्यसपछि नेपालले विश्व क्रिकेटका शक्ति राष्ट्रद्वय भारत र पाकिस्तानसँग खेल्न पाउनेछ। आगामी सेप्टेम्बरमा हुने तय एसिया कपको समूह ‘ए’ पाकिस्तान र भारतसँगै एसिसी प्रिमियर कप विजेता खेल्ने तालिका छ। एसिया कपको अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ।

सेमिफाइनलमा नेपालले कुवेतलाई पछि पारेर फाइनलमा स्थान बनाएको हो। वर्षाका कारण खेल रद्द हुँदा नेपाल समूह विजेता भएको आधारमा फाइनलमा पुग्यो। युएईले भने ओमानमाथि डिएलएस मेथडमा २ रनको जित निकालेर फाइनलमा स्थान बनायो। 

पछिल्लो समय यूएईले उत्कृष्ट खेल देखाइएको छ। आइसिसी विश्वकप लिग–२ मा खराब प्रदर्शन गरेपछि क्वालिफायर प्लेअफमा धकेलिएको युएई त्यसपछि भने उत्कृष्ट खेल देखायो। नामिबियामा उत्कृष्ट खेल देखाएर युएईले एकदिवसीय मान्यता जोगाउनुका साथै विश्वकप छनोटमा समेत स्थान बनायो।
 

विशेष