News

भुटानी शरणार्थी प्रकरणका अनुशन्धान ४ दिनभित्र सक्न निर्देशन

भुटानी शरणार्थी प्रकरणका अनुशन्धान ४ दिनभित्र सक्न निर्देशन

८७५ जना नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेकाहरुको अनुशन्धान ४ दिनभित्र सक्ने सरकारी वकिल कार्यालयले प्रहरीलाई निर्देशन दिएको छ।

संगठित अपराधको मुद्दामा ६० दिनभित्र अनुशन्धान सकेर अदालतमा पुर्याईसक्नु पर्ने ब्यवस्थाका कारण सरकारी वकिल कार्यालयले प्रहरीलाई यस्तो निर्देशन दिएको हो। अध्ययनका लागि पनि समय चाहिने हुँदा चार दिनभित्र अनुसन्धान प्रतिवेदन बुझाउन भनेको सहन्यायाधिवक्ता अच्युतमणी न्यौपानेले वताए।

यो प्रकरणमा जिल्ला प्रहरी परिसर, काठमाडौंले आरोपीहरुविरुद्ध अन्तिम पटक चार दिन म्याद थप गर्न जिल्ला अदालत, काठमाडौंबाट अनुमति पाएको छ। नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनी मन्त्री हुँदा गृहसचिव रहेका टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी लगायत पक्राउ परिसकेका छन् ।

यसैगरी, मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङ पनि पक्राउ परेका छन्। उनीहरु पक्राउ परेको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए ।

उनीहरुको बयानका आधारमा प्रकरणमा हाई प्रोफाइल कनेक्सन खुलेको थियो । प्रकरणमा पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वसभासद् आङटावा शेर्पा, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापा लगायत फरार छन् । 

विशेष