News

बालकृष्ण खाणको बयान सरकारी वकिलका कार्यालयमा सुरु

बालकृष्ण खाणको बयान सरकारी वकिलका कार्यालयमा सुरु

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणको बयान जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा सुरु भएको छ।

पूर्वमन्त्री खाणको बयान सुरु भएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले बताए।

आइतबार खाणसहित १२ आरोपितमाथि अदालतबाट चार दिनको म्याद थप गरेको प्रहरीले सोमबार खाणलाई बयानका लागि लगेको हो । सरकारी वकिलको कार्यालयले प्रहरीलाई चार दिनभित्र आरोपितहरुको अनुसन्धान प्रतिवेदन बुझाउन आइतबार निर्देशन दिएको छ ।

खाणलाई प्रहरीले गत वैशाख २७ गते पक्राउ गरेको थियो। काठमाडौं प्रहरी परिसर टेकुको हिरासतमा रहेका खाणलाई बयान गराउन प्रहरीले केहीबेरअघि सरकारी वकिल कार्यालयमा पुयाएको हो।

प्रहरीले हालसम्म १३ जनालाई पक्राउ गरिसकेको छ । हिजोमात्र पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् । उनलाई आज म्याद थप गर्ने तयारी छ ।

सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजीत राई, पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलगायत पक्राउ परेका छन् । तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीकविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

यो प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।
 

विशेष