News

रेशम चौधरीको जन्मकैदको सजाय सर्वोच्चद्वारा सदर

रेशम चौधरीको जन्मकैदको सजाय सर्वोच्चद्वारा सदर

टिकापुर घटनामा संलग्न रहेको भन्दै जन्दकैदको सजाय पाएका रेशमलाल चौधरीको सजाय सर्वोच्च अदालतले पनि सदर गरेको छ । यसअघि जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलबाट उनलाई जन्मकैदको फैसला भएको थियो।

सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीको हकमा जिल्ला र उच्च अदालतले तोकेको जन्मकैदको सजाय सदर गरेको हो ।

सोही मुद्दाका आरोपी सिताराम चौधरी र गंगाराम चौधरीले सफाइ पाएका छन् । सिताराम र गंगाराम जिल्ला र उच्च अदालतको आदेशअनुसार जन्मकैद भुक्तानका लागि जेलमै थिए । जिल्ला अदालतले ठहर गरेबमोजिम तीन वर्षको कैद भुक्तान गरिसकेका लक्ष्मण थारुलाई उच्च अदालतले जन्मकैद तोकेकोमा सर्वोच्चले जिल्लाकै फैसला सदर गरेको हो ।

२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनाका आरोपित रेशम चौधरी जन्मकैदको सजाय काटिरहेका छन् ।

उच्च अदालतको फैसलाविरुद्ध चौधरीले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । उक्त मुद्दा सोमबार नियमित सुनुवाइका लागि पेशी तोकिएको थियो । न्यायाधीशद्वयको इजलासले मुद्दाको सुनुवाइ नसकिएपछि मंगलबार समेत त्यसलाई निरन्तरता दिएको हो ।


उच्च अदालतको फैसला मिलेकै देखिएकाले जन्मकैदको फैसला सदर हुने ठहर गरेको हो । चौधरीले यो मुद्दामा २० वर्ष कैद सजाय पूरा गर्नुपर्नेछ ।
 

विशेष