News

आरजु जोगाउन प्रहरीलाई दिनमै ५ पटक फोन गर्छन शेरबहादुर देउवा

शिर्ष नेताको चासो अनुशन्धानमा भन्दा आफना मान्छे जोगाउनेमा केन्द्रित

आरजु जोगाउन प्रहरीलाई दिनमै ५ पटक फोन गर्छन शेरबहादुर देउवा

राज्य संयन्त्रमा संलग्न ब्यक्ति नै संलग्न भएर ८७५ जना नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने ताण्डव सार्वजनिक भएपछि यसको सर्वत्र चर्चा छ। यो प्रकरणमा अन्तर्राष्ट्रिय रुपमै चासो ब्यक्त भईरहेका छन्।

यो अपराधमा अहिलेसम्म पूर्वउपप्रधानमन्त्री तथा एमालेका सांसद टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित १३ जना पक्राउ परिसकेका छन ।

पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक र सुरक्षा सल्लाहकार राईका छोरा निरज विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीका अनुसार शरणार्थी व्यवस्थापनसम्बन्धी कार्यदल गठनसँग जोडिएका पूर्वगृहमन्त्री थापाको संलग्नताबारे अनुसन्धान जारी छ । कार्यदल गठनका बेला सचिव रहेका प्रेमकुमार राई (हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख) को संलग्नता रहे/नरहेको विषयमा पनि अनुसन्धान भइरहेको प्रहरी अधिकारीहरुले वताएका छन् ।

गत चैत १२ मा पक्राउ परेका केशव दुलाल, सानु भण्डारी र टंक गुरुङलाई ठगीसम्बन्धी कसुरमा अदालतबाट म्याद थपेर अनुसन्धान भईरहेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नि आरजु राणा देउवा, बालकृष्ण खाँणकी पत्नि मञ्जु लगायतको पनि नाम राष्ट्रिय चर्चामा छ।

यस प्रकरणमा संगठित अपराध, मानव बेचबिखन तथा ओसारपसार, सम्पत्ति शुद्धीकरण, प्रमाण नष्ट, भ्रष्टाचार, पद, सरकारी लिखत दुरुपयोग गरेको कसुरमा पनि अनुसन्धान भइरहेको छ । पक्राउ परेकामध्ये पूर्वउपप्रधानमन्त्री रायमाझी र पूर्वगृहमन्त्री खाणबाहेकको बयान सकिएको प्रहरीले जनाएको छ । 

खाणले गिरोहका केशव दुलाललाई आफूले भेटेको स्वीकार गरिसकेका छन । तत्कालीन गृह सचिव पाण्डेले मन्त्रीकै सल्लाहमा शरणार्थीसम्बन्धी काम गरेको बयान दिएका छन । गिरोहसँग पाण्डेको साँठगाँठ रहेको तथ्य उनको मोबाइलकै विवरणबाट पनि खुलेको छ । रकम लेनदेनको विवरण पनि फेला परेको प्रहरीले जनाएको छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ यस प्रकरणमा राष्ट्रघात भएको तर्क गर्दै हदैसम्मको कारबाही हुने गरी मुद्दा अघि बढाउनुपर्ने अडानमा छन । तर, यो विषयलाई फासफुस गर्ने गरी प्रमुख दलका नेताहरु नै लागि परेका छन्। संसदमा समेत यो विषयले प्रवेश पाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले शिर्ष नेताहरुको तारन्तारको वैठकमा पनि प्रश्न उठाएका छन्।

यो प्रकरणमा आआफना नेता कार्यकर्ता जोगाउन खास गरी कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले दौडधुप गरिरहेको आरोप छ। कांग्रेस सभापति देउवाले त प्रहरीदेखि सरकारी वकिलसम्म दवाव दिन थालेको आरोप लाग्न थालेको छ।

खाँण मन्त्री भए पनि गृह मन्त्रालयमा रजगज चलाएकी आरजु राणामाथि अनुसन्धान नै हुन नदिन देउवाको दौडधुप छ । उनले प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, प्रहरीका अधिकृतहरूलाई पनि पटकपटक फोन गरेर आरजुको विषयमा सोधखोज गर्ने गरेको स्रोतको दावी छ। उनले प्रहरी अधिकारीलाई दिनमै पाँच पटकसम्म फोन गर्ने गरेका छन्। ‘सत्यतथ्य छानबिन होस् भन्नेमा ध्यान छैन, आरजुको नाम कुनै पनि अवस्थामा नआओस् भनेर दबाब दिइरहनुभएको छ,’ गृह मन्त्रालयका एक अधिकारी भन्छन्, ‘खाँण दम्पतीबाट आरजुको नाम नआओस् भन्नेमा उहाँको चासो छ।’

स्रोतका अनुसार मन्जु पक्राउ परे आरजुको नाम लिने निश्चितजस्तै रहेको कांग्रेसकै सांसदहरू बताउँछन्। खाँण दम्पतीलाई ‘फसाएर’ आफ्नी श्रीमतीलाई मात्र बचाउन खोजेको भन्दै कांग्रेसको संस्थापन पक्षकै सांसदको एक समूहले सभापति देउवालाई भेटेर चेतावनी समेत दिईसकेको छ।

केही दिनअघि सार्वजनिक भएको अडियोमा आरजुले साढे २ करोड र मञ्जुले ६ करोड रुपैयाँ लिएको दाबी गरिएको छ । अडियोका आधारमा पनि अनुसन्धान गर्नुपर्ने विज्ञहरूको धारणा छ । प्रहरी भने उक्त अडियो सत्य भएको निस्कर्षमा पुगेको छ। ठगीमा संलग्न मुख्य योजनाकार सन्देश शर्मा र पीडित मध्येका गजेन्द्र बुढाथोकी बीचमा भएको ‘लेनदेन अडियो’ परीक्षणका लागि ‘फरेन्सिक ल्याब’मा पठाइएको छ। तर, आरोपित शर्माले ‘स्वर परीक्षण’का लागि स्याम्पल दिन मानेका छैनन्।

स्वर परीक्षण गर्न नमान्नुको अर्थ सार्वजनिक भएको अडियो कुराकानीको स्वीकारोक्ति मानिने अनुसन्धान अधिकृतहरु बताउँछन् । अडियो कुराकानीमा सन्देशले गजेन्द्रसँग भनेका छन्, ‘मैले नेता र मन्त्री पत्नीलाई पैसा बुझाएको छु, मसँग रेकर्ड छ ।’

यसरी आरजु विरुद्ध पनि प्रमाण जुट्न थालेपछि अहिले शिर्ष नेताहरु यो प्रकरणलाई भ्रष्टाचारका अन्य प्रकरण जस्तै ढिसमिस वनाउने योजनामा लागेको जानकारहरु वताउँछन्।

भुटानी शरणार्थी

विशेष