राप्रपाको बैठकमा अध्यक्ष र केन्द्रीय सदस्यको विवाद, कारवाही गर्ने लिङदेनको धम्की
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को काठमाण्डौंमा जारी केन्द्रीय समिति बैठकमा नेताहरूबीच भनाभन भएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनसँग नेताहरुको विवाद भएपछि केहीबेर बैठकसमेत स्थगित गर्नुपरेको थियो ।
सोमबारबाट सुरू भएको तीन दिने बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ। मङ्गलबार दिउँसो आफ्नो धारणा राख्ने क्रममा केन्द्रीय सदस्य किशोर कार्कीले अध्यक्ष राजेन्द्र लिङ्देनको आलोचना गरे।
लिङदेनको कार्यशैलीमाथि प्रश्न उठाएका उनले यसअघि आफैँले ‘चोर’ भनेका नेताहरुको पछि लागेको आरोप लगाए। त्यसपछि दुई नेताबीच भनाभन भएको वैठकमा सहभागि अर्का एक नेताले वताए । त्यहीबीचमा लिङ्देनले कार्कीलाई ‘मनपरी नबोल्नुस्, अनुशासनको कारबाही गर्छु’ भन्दै हप्काएको उनको भनाई छ।
मंसिर ४ गतेकोसंसदीय निर्वाचनअघि कार्कीको नेतृत्वमा ६३ नेताहरूले अध्यक्ष लिङ्देनलाई ‘कार्यशैली सुधार्नुस’ भन्दै ध्यानाकर्षणपत्र बुझाएका थिए । उक्त ध्यानाकर्षणपत्रको कुनै सम्बोधन नभएको भन्दै कार्कीले अध्यक्ष लिङ्देनको आलोचना गरेका हुन।
‘यस्तो पनि नेतृत्व हुन्छ, नेता हुन्छ । पार्टीमा हरेक विचारहरूलाई सम्बोधन गर्नुपर्दैन ? यसरी पार्टी कहाँ पुग्छ ?’ भन्दै उनले टिप्पणी गरेका थिए।
काठमाडौंको धुम्बाराहीमा चलिरहेको वैठक जेठ ३ गतेसम्म चल्नेछ। बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, गत बैशाख १० मा सम्पन्न उपनिर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लाका साङ्गठनिक गतिविधिसहितको रिर्पोटिङ तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल भईरहेको जनाईएको छ।
गत वैशाख ३०– ३१ गते बस्ने भनिए पनि तयारी नभएको भन्दै बैठक सरेको थियो।
राप्रपा