News

नक्कली भुटानी शरणार्थी प्रकरणः प्रमाण जुटेपनि चार जना भीआईपी विरुद्ध मुद्दा नचल्ने

भ्रष्टाचार देखिए पनि आरजु, मञ्जु, बादल र प्रेम राईलाई छुट

नक्कली भुटानी शरणार्थी प्रकरणः प्रमाण जुटेपनि चार जना भीआईपी विरुद्ध मुद्दा नचल्ने

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा प्रमाण हुँदाहुँदै पनि चार जना भिआईपीलाई उन्मुक्ति दिने चलखेल भएको छ। सरकारी वकिल कार्यालयले आरोप पत्र दायर गर्दा नै उनीहरुलाई उन्मुक्ति दिन लागिएको हो।

यसरी सुविधा पाउनेहरुमा पूर्वउपप्रधान तथा गृहमन्त्री रामबहादुर थापा बादल, तत्कालिन गृहसचिव (अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त) प्रेमकुमार राई, पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी श्रीमती एवम् सांसद आरजु राणा र पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती एवम् सांसद मञ्जु छन्।

भुटानी शरणार्थीका नाममा अध्ययन गरी प्रतिवेदन बुझाउन भन्दै ०७६ जेठमा थापा गृहमन्त्री हुँदा नै कार्यदल गठन गरिएको थियो। २०७६ जेठ ३० गतेको मन्त्रिस्तरीय निर्णयबाट भुटानी शरणार्थीको समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरु पहिल्याउन भन्दै पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल बन्यो।

कार्यदलमा गणेशबहादुर केसीलाई बिचौलियाको चाहना अनुसार नै विज्ञको रुपमा सदस्य वनाईएको खुलेको छ। कार्यदल गठनबाटै ठगीको डिजाइन गरेको प्रहरीको अनुशन्धानले देखाएको छ। त्यस वेला हालका अख्तियार प्रमुख राई गृहसचिव थिए । 

यो प्रकरणमा थापा र राईले रकम लेनदेन गरेको उनीहरुकै कार्यकालमा सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राईको मोवाईलमा भेटिएको म्यासेजबाट पनि पुष्टि भएको प्रहरी स्रोतले जनाएको छ। थापा गृहमन्त्री र राई गृहसचिव हुँदा नै ठगीको शृंखला सुरु भएको ति प्रमाणहरुले पुष्टि गर्छ।

यो प्रकरणमा प्रहरीको हालसम्मको अनुशन्धानले पनि सवैभन्दा वढि रकम लिने सुरक्षा सल्लाहकार राई छन्। उनले विचौलियासँग ५ करोड रुपैया असुल गरेको पाईएको छ। स्रोतका अनुसार थापाको भाग पनि उनले नै वुझेको अनुशन्धानले देखाउँछ। यसैगरी, सचिव राईको पैसा उनकै गाडीमा राखिदिएको विचौलियाले वयान दिएका छन्। सुरक्षा सल्लाहकारको मोवाईलमा भेटिएको म्यासेजले पनि त्यसलाई पुष्टि गर्छ।

अर्कोतर्फ थापाका छोरा प्रतीकले १ करोड वुझेको प्रमाण प्रहरीसँग छ। पक्राउ पुर्जी जारी भएपछि उनी फरार छन्। यसैगरी, तत्कालीन सुरक्षा सल्लाहकारका छोरा निरज पनि पक्राउ पुर्जी जारी भएपछि फरार छन्। यसरी छोरा खाललाई मुद्दा चलाएर बाबु खाललाई जोगाउने प्रयास भईरहेको स्रोतको दावी छ।

यसैगरी आरजु र मञ्जुले पैसा लिएको अडियो रेकर्ड सामाजिक सञ्जालमै सार्वजनिक भएको छ। बालकृष्ण खाँणको मोवाईलमा फेला परेको म्यासेजमा समेत उनीहरु संलग्न रहेको भेटिएको अनुसन्धान अधिकारीहरु बताउँछन्।

फर्म्याट गरिएको खाँणको मोवाईल डिजिटल फरेन्सिक ल्याबमा परीक्षण गरिसकिएको छ। रिपोर्टमा मञ्जु र आरजुको बारेमा समेत नाम उल्लेख रहेको सरकारी वकिल कार्यालयका एक अधिकारीले बताए। 

म्यासेज र अडिओमा नाम हुनु तथा बिचौलिया र मन्त्रालयका अधिकारीको बीचमा भएको कुराकानीमा प्रष्ट देखिदा पनि उनीहरु विरुद्ध अभियोग दर्ता नहुने खेल भईरहेको वताईन्छ। ‘बालकृष्ण र तत्कालिन गृहसचिव टेकनारायण पाण्डेबीचको कुराकानीबाट आरजु र मञ्जुको संलग्नता खुल्छ। मञ्जु त पति पक्राउ भएदेखि नै सम्पर्क विहिन भएकी छिन्। 

तर, उनीहरु चारै जनालाई मुद्दा नचलाउने तयारी भएको स्रोतको दावी छ। प्रहरीले तत्काल मुद्दा नचलाउने व्यक्तिमाथि पनि निगरानी गरिरहेको जनाएको छ। तत्काल मुद्दा चलाउनेसम्मको प्रमाण नजुटेको प्रहरीको भनाई छ।

भुटानी शरणार्थी

विशेष