News विदेश

केन्यामा परमेश्वर भेट्न भोकै वसेर आत्मदाह गर्नेको संख्या २ सय नाघ्यो

केन्यामा परमेश्वर भेट्न भोकै वसेर आत्मदाह गर्नेको संख्या २ सय नाघ्यो

केन्यामा परमेश्वर (भगवान) भेट्न भोकै वसेर आत्मदाह गर्नेको संख्या २ सय नाघेको छ। प्रहरीका अनुसार फरेन्सिक टोलीले शनिबार २२ जनाको शव निकालेसँगै मर्नेको संख्या २०१ पुगेको हो। 

भोकमरीका कारण मृत्यु भएको पुष्टि गर्न प्रहरीले शवको डीएनए नमूना पनि संकलन गरेको छ। यी मध्ये केहीको शरीरबाट अंगहरू हराएको पाइएको छ। यसअघि एएफपीले अदालतको कागजातलाई उद्धृत गर्दै ११२ शवको परीक्षण गरिएको जनाएको थियो।योसँगै त्यहाँको अदालतले गुड न्यूज इन्टरनेशनल चर्चका पास्टर पाउल म्याकेन्जीलाई जमानत दिन पनि अस्वीकार गरेको छ।

पादरीले आफ्ना अनुयायीहरूलाई बच्चाहरू र आफूलाई मार्ने आदेश दिएका थिए ताकि तिनीहरू स्वर्गमा जान र संसारको अन्त्य हुनु अघि यशूलाई भेट्न सकून्। न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार पहिलो पटक बालबालिका र महिलालाई सामूहिक आत्महत्याका लागि तयार पारिएको थियो। उनीहरूलाई केही नखाइकन चर्को घाममा बस्न भनिएको थियो।

मृत फेला परेका कयौं बालबालिकाले श्वेतवस्त्र लगाएको पाइएको छ। परमेश्वरसँग साक्षात्कार गर्ने लालसामा केही मानिस अझै रहेको बताउँदै तिनीहरूलाई पत्ता लगाएर शीघ्र उद्धार नगरेमा उनीहरू पनि माटोमा मिल्ने जनाईएको छ।

भोकै बसेमा परमेश्वर भेटिने अन्धविश्वासको पराकाष्ठाले केन्यालीलाई अब यस्ता धार्मिक अन्धविश्वासविरुद्ध आन्दोलन गर्न प्रेरित गरेको छ भने राष्ट्रपति विलियम रुटोले दोषीमाथि कारबाही हुने प्रतिबद्धता व्यक्त गरिरहेका छन्।
 

केन्या आत्मदाह परमेश्वर

विशेष