News पर्यटन

पासाङ ल्हामुका श्रीमान् सोनाम पनि पुगे सगरमाथाको चुचुरो

पासाङ ल्हामुका श्रीमान् सोनाम पनि पुगे सगरमाथाको चुचुरो

नेपालको पहिलो महिला सगरमाथा आरोही  पासाङ ल्हामु शेर्पाले ज्यान गुमाएको ३० वर्षपछि उनका श्रीमान सोनाम शेर्पाले पनि सगरमाथाको सफल आरोहण गरेका छन् ।

पासाङ ल्हामुका श्रीमान् तथा यती समूहका अध्यक्ष सोनामले आज बिहान ७ बजेर ३४ मिनेटमा सगरमाथाको चुचरोमा पाइला टेकेका हुन।

यसअघि श्रीमती पासाङसँगै सगरमाथा चढ्न हिडेका सोनाम क्याम्प २ बाटै फर्केका थिए । तर, पासाङले २०५० वैशाख १० गते सगरमाथा आरोहण गरेकी थिइन् । फर्किने क्रममा उनको निधन भएको थियो ।

सोनामले यसअघि ६वटा महादेशका अग्ला हिमाल आरोहण गरिसकेका छन् ।  सगरमाथासमेत आरोहण गरेर उनले सातवटै महादेशका अग्ला हिमाल आरोहण गर्ने आफ्नो सपना पूरा गरेका छन् । 

‘सगरमाथाको चुचुरोमा पुग्ने बुबाको सपना पहिलेदेखिकै हो । तर पूरा भएको थिएन । उहाँले सेभेन समिटको तयारी गर्नुभएको थियो’ उनकी छोरी दावाफुटी शेर्पाले भनिन्–‘विशेष गरेर भूकम्पपछि उहाँले हिमाल चढ्ने तयारी गर्नुभएको हो ।’

सोनाम अप्रिल १७ मा काठमाडौंबाट सगरमाथाको लागि प्रस्थान गरेका थिए । सोनाम शेर्पासँगै आरोहणको टोलीमा जाङ्बु शेर्पा, पेमटेंगी शेर्पा, पेम्बा शेर्पा र फ्रान्सका रोबर्ट मोराचिनी पनि रहेका छन् । मंगलबार दिउँसो सगरमाथाको क्याम्प ४ मा पुगेका उनीहरुले हिजो साँझ ८ बजे त्यहाँबाट चुचुरोतर्फ प्रस्थान गरेका थिए ।

६३ वर्षीय शेर्पा सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका वडा नम्बर १ पाङ्गोममा जन्मेका हुन् । उनी ५० वर्षदेखि नेपालको पर्यटन व्यवसायमा संलग्न छन्।

विशेष