News

‘प्रचण्डको सरकार सर्पको मुखमा हुँदा पनि अगाडि झिँगा आउँदा जिव्रो निकाल्ने भ्यागुतो जस्तै’

‘प्रचण्डको सरकार सर्पको मुखमा हुँदा पनि अगाडि झिँगा आउँदा जिव्रो निकाल्ने भ्यागुतो जस्तै’

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार ‘सर्पको मुखमा हुँदा पनि अगाडि झिँगा आउँदा जिव्रो निकाल्ने भ्यागुतो’ जस्तै भएको टिप्पणी गरेका छन्।

३०औं मदन–आश्रित स्मृति दिवसका अवसरमा पुरानो पार्टी कार्यालय बल्खुमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै ओलीले यस्ता बताएका हुन।

अहिलेको सरकार संकटै संकटले घेरिएर धेरै मुख भएको सर्पको पेटमा पर्ने स्थितीमा रहेपनि सरकारमा रहेकाहरु यसवाट बेखरबर भएको ओलीले वताए । ‘यति भयावह अवस्था छ, सरकार जान्छ कि टिक्छ भन्ने कुरामै छ। मैले अस्ति प्रधानमन्त्रीलाई भनें–भ्यागुतो सर्पका मुखमा परिसकेपछि झिँगोसिँगो आयो भने जिब्रो निकाल्छ खानलाई,’ उनले भने, ‘आफैं सर्पको मुखमा परिसक्यो, आधा सर्पले निलिसक्यो तैपनि अगाडि झिँगो, पुतली देखे पिलिक्क जिब्रो निकाल्छ, खानका निम्ति। अहिलेको सरकार त्यस्तै छ। यो त संकटैसंकटले घेरिएर धेरै मुख भएको सर्पको पेटमा पर्ने स्थितिमा छ।तर सरकार बेखबर छ।’

ओलीले कांग्रेसप्रति कटाक्ष गर्दै ‘हावा न चावा’को पार्टीको संज्ञा दिएका छन्। ‘नेपाली कांग्रेस भन्ने एउटा पार्टी छ, हावा न चावाको! कुनै राजनीतिक संज्ञा दिन पनि मन लाग्न छाडिसक्यो। त्यो पार्टीलाई हावा न चावाको पार्टी बनाइयो,’ उनले भने।

उनले देश गम्भीर परिस्थितिमा भएका बेला कांग्रेस किंकर्तव्यविमूढ भएको भन्दै अहिलेको गठबन्धन पनि उद्देश्य, गन्तव्यहीन भएको आरोप लगाए। 

‘भोलि उठी कहाँ जाने केही थाहा छैन, के गर्नुपर्ने हो? आज देशलाई कसरी सही बाटोमा लानुपर्ने हो? त्यो कुरामा छैन’ कांग्रेसप्रति लक्षित गर्दै उनले भने–‘त्यसमा सोच्न सक्ने अवस्थामा छैन। यसको अर्थ हो हाम्रो पार्टी एक्लैले यो अभिभारा वस्तुतः पूरा गर्नुपर्ने छ।’
 

विशेष