आर्यान खानलाई फसाई दिन्छु भन्दै जव शाहरुख खानसँग २५ करोड घुस मागियो
बलीवुडका सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानलाई लागुऔषध बोकेको तथा प्रयोग गरेको भन्ने सबै अभियोगबाट सफाइ दिइएको एक वर्षपछि उक्त मामिला भारतमा फेरि चर्चित बनेको छ।
सन् २०२१ को नोभेम्बरमा पक्राउ गरिएका आर्यन खानविरुद्ध अनुसन्धानको अगुवाइ गरेका समीर वाङखेडेमाथि भ्रष्टाचार तथा जबरजस्ती पैसा असुलीका अभियोग लगाइएको छ। वाङखेडेले शाहरुख खानको परिवारसँग २५ करोड भारतीय रुपैयाँ घुस मागेको आरोप लगाइएको छ।
भारतको प्रमुख जाँच एजेन्सी सीबीआईले सोमवार दर्ता गराएको उजुरीमा वाङखेडेसहित पाँच जनाको नाम उल्लेख छ। सीबीआईका अनुसार वाङखेडेले उनका कनिष्ठ सहयोगीहरूलाई आर्यन खानको परिवारमाथि धम्की दिन अनुमति दिएका थिए। पैसा नतिरे आर्यनलाई लागुऔषध मामिलामा ‘फसाइदिने’ धम्की तिनले दिएको उल्लेख छ।
वाङखेडेले ती आरोपको खण्डन गर्दै आफूलाई ‘देशभक्त भएको पुरस्कार मिलिरहेको’ प्रतिक्रिया दिएका छन्। आर्यन खान वा उनको परिवारले भने तत्काल कुनै टिप्पणी गरेका छैनन्।
अहिलेसम्मको मामिला
सन् २०२१ को अक्टोबरमा एउटा क्रूज पानीजहाजमा भारतीय लागुऔषध नियन्त्रणसम्बन्धी निकाय नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) का तीन अधिकारीले छापा मारेका थिए। उक्त टोलीमा वाङखेडे पनि थिए।
त्यतिखेर उक्त टोलीले आर्यन खान तथा अन्य १९ जनाबाट लागुऔषध बरामद गरेको दाबी गर्दै उनीहरूलाई पक्राउ गरेको थियो। मुम्बईबाट गोवा जाँदै गरेको उक्त क्रूज जहाजबाट आर्यन खानलाई निकालेर लगिएको थियो।
एनसीबीले त्यतिखेर आर्यन खान तथा अन्यलाई ‘अवैध सामग्री बोक्ने, प्रयोग गर्ने तथा बिक्री गर्ने’ सम्बन्धी कानुनअन्तर्गत पक्राउ गरिएको बताएको थियो। उक्त घटना भारत र विश्वभरि चर्चित बनेको थियो। बलीवुड अभिनेताका छोराले झन्डै तीन साता जेलमा बिताएका थिए। पछि उनी जमानतमा रिहा भए।
तर नोभेम्बरमा घटनामा अर्को मोड तब आयो जब उक्त मामिलाको राम्ररी अनुसन्धान नगरेको भनेर वाङखेडे आलोचित भए र उनलाई एनसीबी मुम्बई क्षेत्रका प्रमुख पदबाट सरुवा गरियो। महाराष्ट्र राज्यको तात्कालिक सत्तारूढ गठबन्धनमा सामेल भएको न्याश्नलिस्ट कङ्ग्रेस पार्टी (एनसीपी)का नेता नवाब मलिकले वाङखेडेमाथि जबरजस्ती पैसा असुलीलगायत कैयौँ अनियमितता गरेको आरोप लगाएका थिए।
लगत्तै आर्यन खान र अन्य छ जनाविरुद्ध जारी अनुसन्धानको जिम्मेवारी वाङखेडेबाट खोसेर एक विशेष अनुसन्धान टोलीलाई दिइएको थियो। एनसीबीसँगको वाङखेडेको सम्बद्धता डिसेम्बरमै सकिएको थियो। पाँच महिनापछि उनलाई दक्षिणी सहर चेन्नईको कर विभागमा सरुवा गरियो। यद्यपि उनले धेरै समय मुम्बईमा नै बिताउने गरेको विवरण आएका थिए।
सन् २०२२ को मे महिनामा एनसीबीले आर्यन खानलाई सबै अभियोगबाट सफाइ दिएको थियो।
वाङखेडेविरुद्ध कस्ता अभियोग?
एनसीबीका एक अधिकारीले वाङखेडेको सुपरिवेक्षणमा भएका गलत कार्यहरूबारे बोलेपछि सीबीआईले उनी र अन्य चार जनाविरुद्ध अनुसन्धान थालेको बताएको छ। वाङखेडेले गरेका अनुसन्धानमा एनसीबीको विशेष सोधपुछ टोलीले कैयौँ अनियमितता फेला पारेको सीबीआईले बताएको छ।
सो मामिलासँग सम्बन्धित दस्तावेजहरूबाट १७ जना सन्दिग्धको नाम हटाइएको पाइएको उसले उल्लेख गरेको छ। साथै क्रूजमा छापा मार्ने बेला वाङखेडेले दुई जना गैरसैनिक व्यक्ति केपी गोसावी र सान्भिल डीसुजालाई ‘स्वतन्त्र साक्षी’का रूपमा लगेको तर आरोपितहरूका सामु भने उनीहरू पनि एनसीबीकै अधिकारी भएको भान पारेको सीबीआईको उजुरीमा उल्लेख छ।
‘गोसावीलाई त पछि पनि एनसीबी कार्यालयमा आउन अनुमति दिइएको पाइएको छ जुन स्वतन्त्र साक्षीहरूसम्बन्धी नियमविपरीत छ,’ सीबीआईले दर्ता गराएको उजुरीमा भनिएको छ। ‘उनले आरोपितसँग सेल्फी खिचेको तथा आवाज रेकर्ड गरेको पाइएको छ।’
यसमार्फत् गोसावीले आर्यन खानको परिवारसँग २५ करोड मागेको र नदिएमा उनीविरुद्ध लागुऔषधको मुद्दा दर्ता हुने धम्की दिएको उल्लेख छ। उक्त रकमको परिमाणलाई पछि १८ करोड रुपैयाँमा झारिएको थियो।
गोसावी र डीसुजाले अग्रीमका रूपमा ५० लाख रुपैयाँ घुस लिएको भनिएको छ। त्यसको केही भाग पछि उनीहरूले फिर्ता गरेको सीबीआईले उल्लेख गरेको छ। यी आरोपहरूबारे आर्यन खानको परिवारले कुनै टिप्पणी गरेको छैन।
सीबीआईको उजुरीमा वाङखेडेले उनको घोषित आम्दानीअनुरूप सम्पत्ति जोडेको बारे ‘सन्तोषजनक प्रमाण’ दिन नसकेको पनि बताइएको छ।
वाङखेडेको प्रतिक्रिया
सोमवार सीबीआई अधिकारीहरूले वाङखेडेको घर तथा अन्य २८ ठाउँमा छापा मारेका छन्। वाङखेडेले आफूविरुद्ध लागेका आरोपहरू अस्वीकार गरेका छन्। ‘उनीहरूले मेरो घरमा २३,००० रुपैयाँ अनि सम्पत्तिसम्बन्धी चारवटा दस्तावेज भेट्टाएका छन्। ती सम्पत्ति मैले यो जागिर खानुभन्दा पहिले नै जोडिएको हो’– वाङखेडेले पत्रकारहरूलाई बताएका छन्।
मङ्गलवार उनकी पत्नीले पनि ती आरोपहरू गलत भएको बताइन्। ‘सीबीआईको कारबाहीप्रति हामीले पूरै सहयोग गरिरहेका छौँ। कानुनमा हाम्रो आस्था छ र एक जिम्मेवार नागरिकको हैसियतमा अनुसन्धानमा संलग्न निकायहरूलाई सहयोग गर्न हामी तयार छौँ,’– क्रान्ति रेड्कर वाङखेडेले समाचार एजेन्सी एएनआईसँग भनिन्।
यो सामग्री बीबीसी नेपालीबाट साभार गरिएको हो।