News

कोशीमा प्रदेश सभा सदस्यलाई डेढ करोडको ल्यापटपः सांसदकै विरोध

कोशीमा प्रदेश सभा सदस्यलाई डेढ करोडको ल्यापटपः सांसदकै विरोध

कोशी प्रदेशका सांसदहरुका लागि प्रदेशभा सचिवालयले ल्यापटप बाँड्ने योजना अगाडि सारेपछि सांसदले नै त्यसको विरोध गर्न थालेका छन्।

 ९३ जना प्रदेशसभा सदस्यलाई सचिवालयले नयाँ ल्यापटप बाँड्ने तयारी गरेपछि माओवादी सांसदले यसको विरोध गरेका हुन। ल्यापटप बाँड्नका लागि सरकारले १ करोड ५० लाख रुपैयाँ रकमान्तर गरेर खर्च गर्दैछ।

माओवादी केन्द्रका सांसद गणेश उप्रतीले यसको विरोध गरेका छन्। सांसदका लागि ल्याटप खरिद गर्न छुट्याएको बजेट युवालाई रोजगारी सिर्जनाका लागि खर्च गर्न उनको माग छ।

विकास निर्माण कामको भुक्तानी नभइरहेका बेला प्रदेश सांसदलाई ल्यापटप बाँड्नु अनैतिक हुने उनले वताए । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र कांग्रेस सांसद केदार कार्कीले पनि सांसदलाई ल्यापटप बाँड्न आवश्यक नरहेको बताएका छन् ।

उनीहरुले प्रदेशसभा सचिवालयले बाड्ने ल्यापटप नलिने बताए । प्रदेशसभा सदस्यले एक महिनाको सुविधाले ल्यापटप खरिद गर्न सक्ने बताउँदै सचिवालयले खरिद गरेर बाँड्नु बेठीक भएको आङ्बोले बताए ।

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले सरकारले आफ्नो कर्तुत लुकाउन प्रदेश सांसदलाई ल्यापटप बाँड्न लागेको बताएका छन्। संघीयतालाई बदनाम गराउन यस्तो योजना ल्याईको उनको भनाई छ। पूर्वकानुनमन्त्री समेत रहेका कार्कीले ल्यापटपको विषयले सांसदहरुलाई बदनाम नगराउँदा राम्रो हुने बताए।

संघियताविरोधी पक्षलाई बल पुग्नेगरी ल्यापटप खरिद प्रकियामा नीतिगत भ्रष्टाचार गर्न खोजिएको उनको आरोप छ। यता, सांसदलाई ल्यापटप बाँड्दै गर्दा विकास निर्माणका काममा भने बजेट नभएको भन्दै प्रदेश सरकारले भुक्तानी रोकेको छ। 
 

कोशी प्रदेश

विशेष