News अपराध सुरक्षा

फरार सांसद कोईरीलाई पक्राउ गर्न प्रहरीले माग्यो सभामुखको सहयोग

फरार सांसद कोईरीलाई पक्राउ गर्न प्रहरीले माग्यो सभामुखको सहयोग

हत्या अभियोगमा फरार एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरीले संसदलाई सहयोग मागेको छ। सभामुख देवराज घिमिरेलाई पत्राचार गर्दै प्रहरी प्रधान कार्यालयले पक्राउका लागि सहयोग मागेको हो।

प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको कार्यलयले आइतबार सभामुखका नाममा पत्राचार गरेको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

गत पुस ७ मा पनि संसद् सचिवालयसँग कोइरीलाई पक्राउका लागि सहयोग माग्दै प्रहरीले पत्र लेखेको थियो । उक्त पत्र संघीय संसद्का महासचिवलाई लेखिएको थियो । उक्त पत्रमा संसद्ले कुनै कारबाही गरेको थिएन । उक्त पत्र आएपछि पनि सांसद कोइरी संसद्का बैठकमा सहभागी भएका थिए ।

चैत १९ मा प्रतिनिधिसभा नियमावली २०७९ पारित भएपछि उक्त पत्रको औचित्य सकिएको बुझाइ सभामुख र संसद् सचिवालयको थियो । कोइरी फरार रहेपनि नियमावली अनुसार निलम्बन भएका थिएनन् । कोइरीले सभामुखलाई आफू बिरामी परेकाले बिदा स्वीकृति गरिदिन भन्दै पत्र लेखेका थिए ।

संसद् अधिवेशनको अन्तिम बैठक बैशाख १५ मा सभामुखले कोइरीको बिदा स्वीकृतिका लागि प्रस्ताव राखेका थिए । जसलाई संसद्ले अस्वीकार गरेको थियो । त्यसपछि प्रहरीले फेरि पत्र लेखेको हो ।

कोइरीमाथि सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या अभियोग छ । उच्च अदालत जनकपुरले उनलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।

मधेश आन्दोलनका बेला २०७२ भदौ २५ मा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो ।

उक्त घटनामा संलग्न रहेको अभियोग लागेका कोइरीसहित २९ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा चलेको थियो । जिल्ला अदालत महोत्तरीले ०७६ असोज २ मा १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि कोइरी छुटेका थिए । जनकपुर उच्च अदालतले २०७७ मंसिर १९ मा जिल्लाको आदेश उल्ट्याउँदै कोइरीलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको थियो ।

उक्त आदेशपछि कोइरी कानुनको नजरमा फरार हुन् । फरार रहेकै अवस्थामा उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। प्रहरी प्रधान कार्यालयको पत्र प्राप्त भएपछि सभामुखले सांसद कोइरीलाई निलम्बनको प्रक्रिया अगाडि बढाउनेछन् ।

हाल संसद्को अधिवेशन नरहेकाले कोइरी निलम्बन भएको सूचना जारी हुनेछ । प्रतिनिधिसभा नियमावलीले फरार रहेका सांसदको पद स्वतः निलम्बन हुने व्यवस्था गरेको छ । 
 

विशेष