News

वीर अस्पतालकी नर्स अनुमाको मृत्यु प्रकरणमा कोशी अस्पतालका डाक्टर पक्राउ

वीर अस्पतालकी नर्स अनुमाको मृत्यु प्रकरणमा कोशी अस्पतालका डाक्टर पक्राउ

वीर अस्पतालमा कार्यरत नर्स अनुमा श्रेष्ठका प्रेमी भनिएका विराटनगरको कोशी अस्पतालमा कार्यरत डाक्टर सुजन ढकाललाई प्रहरीले पक्राउ गरेको छ ।

विवाह गर्न अस्वीकार गरी आत्महत्या गर्न बाध्य बनाएको भन्दै अनुमाको परिवारले जाहेरी दिएपछि ढकाल पक्राउ परेका हुन। अनुमाको परिवारले प्रेमी ढकाल तथा उनका बुवाविरुद्ध प्रहरी वृत्त बालाजुमा आत्महत्या दुरुत्साहनमा जाहेरी दिएको थियो।

अदालतले दुई जनाविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरले सुजनका बुवालाई पनि पक्राउ गरी आवश्यक अनुसन्धान थालिने बताए । लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न अस्वीकार गरेको भन्दै ३४ वर्षीय अनुमाले शनिवार प्रेमी सुजनको बोहोराटारस्थित घरमै पुगेर आत्महत्या गरेकी थिइन् ।

अनुमाले विवाहका लागि पटकपटक आग्रह गर्दा पनि प्रेमी सुजन र उनका बुवाले विवाहका लागि अस्वीकार गरेको जनाईएको छ।सोह्रखुट्टेमा कोठा भएकी अनुमाले बालाजु बोहोराटार स्थित ढकालको कोठमा आत्महत्या गरेको जनाईएको छ। उनी बेलाबेलामा सुजनकै घरमा गएर बस्ने पनि गरेकी थिइन् ।

अनुमाले आत्महत्या गरेकै स्थानबाट एउटा डायरी बरामद भएको थियो। बरामद भएको डायरीमा अनुमाले आफ्नो जीवन भोगाई, प्रेम सम्बन्ध, विवाहका लागि भएको प्रयास र केटापक्षको परिवारले गरेको अस्वीकार लगायतको विषयमा उल्लेख गरेकी छिन् ।

अनुमाको शवसँगै भेटिएको ‘सुसाइड डायरी’मा आफूले दुई पटकसम्म गर्भपतन गराएको, प्रेमीका बुवाले विवाह गर्न नदिएको लगायतका कुरा समेत समावेश छ । त्यसैलाई प्रमाण बनाएर सुजन र बुवाविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिइएको थियो । 
 

विशेष