News

सन्दीप लामिछानेको मुद्दामा यस कारण आज पनि अदालतले फैसला दिएन

सन्दीप लामिछानेको मुद्दामा यस कारण आज पनि अदालतले फैसला दिएन

क्रिकेटर सन्दीप लामिछानेतर्फबाट अदालतमा पेश भएको पीडितको जन्ममिति खुल्ने कागज अस्पष्ट भएपछि आज पनि बलात्कारसम्बन्धी मुद्दाको सुनुवाई हुन सकेन। अदालतले उमेर विवादमा फेरि प्रमाण बुझ्ने आदेश दिएको छ।

न्यायाधीश फडिन्द्रनाथ पराजुलीको इजलासले प्रमाण बुझ्ने आदेश दिएको हो । लामिछाने पक्षले पुर्पक्षको बहसदेखि नै मुद्दाको जाहेरवाली नाबालिग नरहेको दाबी गर्दै नागरिकताको प्रमाणपत्रमा रहेको जन्ममिति (२०६२ जेठ १८) गलत रहेको जिकिर गरिरहेका थिए।

जाहेरवालाको जन्मदर्ता र विद्यालय प्रमाणपत्रहरू पेस गर्दै पीडितको जन्म मिति २०६१ असार १८ गते रहेको दाबी गरेका थिए । जसअनुसार पीडितको उमेर घटना हुँदाको समय (२०७९ भदौ ५) मा १८ वर्ष पुगिसकेको देखिन्छ ।

जाहेरवालाको पक्षले भने लामिछानेका कानुन व्यवसायीले पेस गरेको जन्म मितिको प्रमाणलाई अस्वीकार गर्दै आएका छन् । उनीहरुले लामिछाने पक्षले पेस गरेका उमेरसम्बन्धी प्रमाण विश्वासयोग्य नभएको वताएका छन्।

अदालतले पनि त्यही कारणले ती प्रमाणहरूको अन्योलता पुष्टि गर्न प्रमाण बुझ्ने आदेश दिएको हो। लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगमा मुद्दा चलिरहेको छ । गत वर्ष भदौ ५ गते पटक–पटक बलात्कार गरेको आरोपमा भदौ २१ गते उनीविरुद्ध जाहेरी दर्ता भएको थियो ।

जाहेरी दर्ता हुँदा लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्नका लागि वेस्ट इन्डिजमा थिए । उनी पक्राउ पुर्जी जारी भएको एक महिनापछि असोज २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन।

अदालतले उनलाई न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो भने उक्त आदेश पाटन उच्च अदालतले उल्टाउँदै लामिछानेलाई विदेश जान नपाउने सर्तसहित २० लाख धरौटीमा रिहा गरेको थियो ।

उच्च अदालतको उक्त आदेश सदर गर्दै सर्वोच्च अदालतको न्यायाधीसद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले उनलाई क्रिकेट खेल्न विदेशसमेत जान मिल्ने गरी धरौटीमा छाड्ने आदेश दिएको थियो । 

सन्दीप लामिछाने

विशेष