News अपराध सुरक्षा

घाईते सई थमन विकलाई एम्वुलेन्सबाट थुतेर हत्या गरेको आरोप लागेका कोईरी संसदबाट निलम्वित

घाईते सई थमन विकलाई एम्वुलेन्सबाट थुतेर हत्या गरेको आरोप लागेका कोईरी संसदबाट निलम्वित

हत्या अभियोग लागेका एमाले सांसद लक्ष्मी महतो कोइरी प्रतिनिधि सभा सदस्यबाट निलम्बित भएका छन् । सभामुख देवराज घिमिरेले मंगलबार सूचना जारी गरेर कोईरीलाई निलम्वन गरेका हुन।

सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले प्रतिनिधिसभा नियमावलीको नियम २४८ को उपनियम ३ बमोजिम सांसद कोइरीलाई प्रतिनिधि सभा सदस्यबाट निलम्बन गरेको जानकारी दिए । सभा सञ्चालन नभएको अवस्थामा सभामुख घिमिरेले सूचना टाँस गरेर सांसद कोइरीलाई निलम्बन गरेका हुन् ।

सोमबार नेपाल प्रहरीले सांसद कोइरीमाथि हत्या अभियोगमा अदालतमा मुद्दा चलेको र हाल उनी फरार अवस्थामा रहेकोले खोजी कार्य भइरहेको भन्दै उनलाई पक्राउ गर्न सभामुखको सहयोग माग गरेको थियो। सो पत्रपछि कोइरी निलम्बनमा परेका हुन।

सभामुख र संसद् सचिवालय सांसद यसअघि कोईरीको वचाउमा लागेका थिए। निलम्बन गर्नुको साटो कोइरीको बिदा स्वीकृत गर्न संसद् अधिवेशनको अन्तिम दिनसम्म कोसिस भएको थियो। जानकारी नदिई प्रतिनिधिसभा बैठकमा लगातार १० पटक अनुपस्थित भए सांसद पद खारेज हुने संवैधानिक व्यवस्था छ । उक्त कारबाही छल्न कोइरीले आफू बिरामी रहेको जानकारी इमेलमार्फत संसद् सचिवालयलाई दिँदै आएका थिए। उनी प्रतिनिधिसभाका २६ बैठकमा लगातार अनुपस्थित भइसकेका थिए ।

सात वर्षअघि महोत्तरीमा नेपाल प्रहरीका सई थमन विश्वकर्मा हत्या आरोपमा जनकपुर उच्च अदालतले कोइरीलाई पक्राउ गर्न आदेश दिएको थियो । मधेश आन्दोलनका बेला ०७२ भदौ २५ गते प्रदर्शनकारीको कुटाइबाट गम्भीर घाइते भएका सशस्त्र प्रहरीका सहायक निरीक्षक विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो ।

उक्त घटनामा संलग्न अभियोग लागेका कोइरीसहित २९ जनाविरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा चलेको थियो। जिल्ला अदालतको ०७६ असोज २ को आदेशपछि कोइरी धरौटीमा छुटेका थिए तर जनकपुर उच्च अदालतले २०७७ मंसिर १९ मा जिल्लाको आदेश उल्ट्याउँदै कोइरीलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको थियो।

उक्त आदेशपछि फरार रहेकै अवस्थामा उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनी प्रतिनिधि सभाको वैठकमा पनि उपस्थित भए। तर, नेपाली कांग्रेसका सांसदले पक्राउ गर्न संसदमै आवाज उठाएपछि उनी उपस्थित हुन छोडे। त्यसपछि उनी भागेर भारतीय क्षेत्रमा लुकेर वसेको वताईएको छ।
 

लक्ष्मी महतो कोइरी थमन विश्वकर्मा

विशेष