आँखामा हेरेर रोग निको पार्छु भन्ने केसीले सर्वसाधारण झुक्याए, कार्यक्रम नै नगरी हिडे

आफुसँग अलौकिक शक्ति भएको दावी गर्दै बिरामीको आँखामा हेरेर रोग निको पार्छु भन्दै आएका ‘सिमान्त गुरू’ भनिने भरत केसी दाङको तुलसीपुरमा आयोजित कार्यक्रम नै नगरी हिडेका छन्।
सिडिओको आदेशमा प्रहरीले कार्यक्रममा सुरक्षा नदिएपछि उनी कार्यक्रम नै नगरी हिडेका हुन। केसीले बालाजुमा अलौकिक मनोवैज्ञानिक ज्योतिष प्रालि भन्ने संस्था दर्ता गराई यस्ता कार्यक्रम गर्दै हिडेका छन् ।
केसीले उपचारको बहानामा तुलसीपुरको त्रिसिद्धेश्वरी मन्दिर परिसरमा सयौंलाई भेला गराइएको भए पनि अन्तिममा कार्यक्रम नै नगरी नेपालगञ्जतर्फ लागेको प्रहरीले जनाएको छ।
ज्योतिष केसीलाई तुलसीपुर बोलाउने मध्यका एक जना उद्योगी डिल्लीबहादुर बस्नेतले पनि प्रहरीले सुरक्षा नदिने बताएपछि कार्यक्रम नै नगरी फिर्ता भएको जानकारी दिए।
केसीले सामाजिक सञ्जाल टिकटकमा भिडिओ पोष्ट गर्दै आफूसँग अलौकिक क्षमता भएको दाबी गर्ने गरेका छन्। उनको त्यही दाबीलाई पत्याएर विभिन्न ठाउँमा मानिसहरू उनलाई आफ्नो रोग देखाउन जाने गरेका छन्।