News अपराध सुरक्षा

टेकनारायण पाण्डेलाई पठाएको म्यासेज खाँणको मोवाईलमा छैन, जिल्ल पर्यो प्रहरी

खाँणले यसरी दबाए प्रहरीको कमजोर नसाः मोवाईल नै फेरेको आशंका

टेकनारायण पाण्डेलाई पठाएको म्यासेज खाँणको मोवाईलमा छैन, जिल्ल पर्यो प्रहरी

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ परेपछि ‘ठुला माछा’को समुह सामुन्ने आउने आशामा रहेको प्रहरीलाई निराशा मात्रै हात लागेको छ।

गृहमन्त्री भएर प्रहरी संगठन हाँकेका खाँणले यो प्रकरणमा प्रहरीलाई नै चक्मा दिएका छन्। वैशाख २७ गते मैजुबहालस्थित निवासबाट खाँणलाई पक्राउ गर्दा प्रहरीले उनले चलाउने मोवाईल पनि बरामद गरेको थियो। खाँणको मोबाइलबाट प्राप्त हुने विवरणमार्फत अझै माथिल्लो तहको नेक्सससम्म पुग्न सकिने प्रहरीको अनुमान थियो।

तर, उनको मोवाईलमा प्रहरीले केही विवरण फेला पार्न सकेन। यद्यपी प्रहरी निरास भएको थिएन। खाँणले मोवाईल फर्म्याट गरेको अनुमान लगाएर प्रहरीले डीजीटल फरेन्सीक ल्याब (डीएफएल)मा पठाएको थियो। यसअघि तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले पनि मोवाईल फर्म्याट गरेको पाईएको थियो। तर, प्रहरीले डीएफएलबाट नै पाण्डेको मोवाईलबाट डाटा रिकभर गरेको थियो।

खाँणको मामलामा भने प्रहरीलाई ‘माछो–माछोः भ्यागुतो’ भनेजस्तै भएको छ। खाणको साथबाट बरामद भएको मोबाइलको फरेन्सीक जाँचको रिपोर्ट आएको छ। रिपोर्टमा प्रहरीले आशा गरेजस्तो कुनै पनि कुराकानी तथा प्रमाणहरु भेटिएको छैन।

जाँच भएर आउँदा पनि केही फेला नपरेपछि खाणले प्रमाण लुकाउन मोबाइल नै परिवर्तन गरेर झुक्याएको हुन सक्ने आशंका प्रहरीले गरेको छ। ‘डीएफएलबाट केही पनि नआएपछि उहाँले मोबाइल नै परिवर्तन गरेको हुनसक्ने हाम्रो विश्लेषण हो,’ काठमाण्डौं परिसर स्रोतले भन्यो, ‘मोबाइल परिवर्तन नभएको भए डीएफएल रिपोर्टबाट केही प्रमाणहरु आउँथे।’

यता खाणले भने आफूले मोबाइल नै परिवर्तन नगरेको दाबी गरेका छन्। आफू मन्त्री छँदा जुन मोबाइल बोकेको हो अहिले पनि त्यही मोबाइल बोकेको खाणले दाबी गरेको प्रहरी अधिकारीले बताए।

यसबारेमा सरकारी वकिलले खाणलाई प्रश्न पनि गरेका थिए। उनले ‘आफू पूरानो पुस्ताको मान्छे हुँ। मोबाइलको प्राविधिक पक्षबारे जानकारी छैन। मेरो मोबाइल त्यही। जे छ त्यही छ’ भनेका बताइएको छ।

खाणलाई नक्कली भुटानी शरणार्थी प्रकरणका विचौलिया केशव दुलाल र उनी गृहमन्त्री हुँदाका सचिव टेकनारायण पाण्डेले बयानका क्रममा नाम लिएको आधारमा पक्राउ गरेको थियो। पाण्डेको मोबाइलमा खाणको म्यासेज भेटिएको थियो। तर, उनको आफनो मोवाईलमा भने त्यो म्यासेज पनि भेटिएको छैन।

मोबाइलबाट नयाँ विवरण फेला नपरेपनि उनलाई ‘गिरोहलाई अनुकूल हुने गरी निर्णयहरु गराएको’ आरोपमा पक्राउ गरिएकाले खासै फरक नपर्ने अनुशन्धान अधिकृतहरु वताउँछन्। प्रहरीका अनुसार पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलले तयार पारेको रिपोर्ट आफूअनुकूल नदेखिएपछि मन्त्रालय नेतृत्वलाई प्रभावमा पारेर गिरोहले त्यसलाई सच्याउन अर्को उपसमिति गठन गराएको थियो । तत्कालीन गृहसचिव पाण्डेले झापाका सहायक सिडिओ चोमेन्द्र न्यौपानेको नेतृत्वमा त्यसलाई सच्याउन अर्को उपसमिति बनाएका थिए ।

तर, उपसमितिले काम गरेको थिएन । बयानमा तत्कालीन सचिव पाण्डेले आफूले गृहमन्त्रीकै निर्देशनमा सबै काम गरेको जिकिर गरेका थिए । यो प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् ।

१६ जनालाई नै फरार प्रतिवादी बनाएर प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा रायसहितको अनुसन्धान प्रतिवेदन सोमबार बुझाएको छ ।

भुटानी शरणार्थी

विशेष