संसदमा ओलीलाई सांसदको चुनौतीः गल्ती भए जेल जान तयार हुनुहुन्छ ?

प्रतिनिधि सभाको आजको वैठकमा माओवादी केन्द्रका सांसदले यती र ओम्नी प्रकरणमा संलग्नता भेटिए जेल जान तयार हुनुहुन्छ ? भन्दै प्रश्न गरेका छन्।
हिजोको संसद वैठकमा बोल्दै ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफुमाथि पनि अनुशन्धान गर्न चुनौती दिएपनि आज उनीमाथि प्रश्न उठेको हो।
माओवादी सांसद माधवप्रसाद सापकोटाले ओलीलाई लक्षित गर्दै विगतका भ्रष्टाचार प्रकरणमा ‘गल्ती भए जेल जान तयार छु’ भन्न सक्छन् कि सक्दैनन् भन्दै प्रश्न गरे। यती र ओम्नी प्रकरणका फाइल खोल्न आग्रह गरेका उनले ‘भ्रष्टाचारका सबै प्रकरणका फाइल खोल्न र गल्ती भेटिए कारबाही भोग्न तयार हो कि होइन ?’ भनेर प्रश्न गरे।
नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा सापकोटाले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले क्यान्टोनमेन्टका फाइल खोल्न तयार रहेको र भ्रष्टाचार भेटिए जेल जान तयार रहेको संसद्मा भनेको स्मरण गराउँदै यती र ओम्नी लगायतका अनियमितता खोल्न र कारबाही भोग्न ओली तयार हुन् कि होइन भन्दै प्रश्न गरेका हुन ।
‘भ्रष्टाचारका विषय उठेकामा सहमत छु । रघुजी पन्तले पनि नैतिकताको कुरा गर्नुभयो । त्यै नैतिकता भएर होला प्रधानमन्त्रीज्यूले क्यान्टोनमेन्टका फाइलहरू खोलौं म दोषी रहेछु भने जेल जान तयार छु भन्नुभयो,’ उनले भने–‘प्रमुख प्रतिपक्षी दलको नेताले पनि यती र ओम्नीका फाइलहरू खोलौं, गल्ती रहेछ भने जेल जान तयार छु भन्ने आँट गरौं न ! सुरुवात त्यहाँबाट नै हुन्छ ।’