News

प्रहरीले प्रतिवेदन वुझायो, जुन सुकै वेला पक्राउ पर्न सक्छन यी ‘हाईप्रोफाईल’

बादलका छोरा प्रतीक र इन्द्रजितका छोरा निरजसहित १६ जना फरार सूचिमा

प्रहरीले प्रतिवेदन वुझायो, जुन सुकै वेला पक्राउ पर्न सक्छन यी ‘हाईप्रोफाईल’

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिकामा वेच्न खोजेको आरोप लागेका ७ जनालाई प्रहरीले जुनसुकै समयमा पक्राउ गर्न सक्ने भएको छ। उक्त प्रकरणमा सोमबार जिल्ला प्रहरी परिसर काठमाडौँले ३२ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय दिँदै अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

काठमाडौँ सरकारी वकिल कार्यालयलाई बुझाएको प्रतिवेदनमा प्रहरीले पक्राउ परेकाहरु विरुद्ध तीन ओटा कसुरमा मुद्दा चलाउन राय दिएको छ। प्रहरीको रायमा ठगी, राज्यविरुद्धको कसुर, संगठित अपराध र एकीकृत कसूरविरुद्धको सजायमा मुद्दा चलाउन सकिन्छ।

यसबाहेक बयानका क्रममा प्रतिवादीहरूले पोलेका तर तत्काल प्रमाण जुटाउन नसकिएका अन्य ७ जनाको नाम पनि प्रहरीले प्रदिवेनमा समावेश गरेको छ। पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा, पूर्व गृहमन्त्री बालकृष्ण खाणकी पत्नी मञ्जु, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र एमालेका अध्यक्ष केपी शर्मा ओलीका निजी सचिव राजेश बज्राचार्यको नाम यो सूचिमा छ।

उक्त प्रकरणमा उनीहरुको नाम समेत आएपछि पक्राउ गरेर अनुसन्धान गरिहाल्ने प्रमाण भने फेला नपरेको प्रहरीले जनाएको छ। उनीहरूलाई संगठित अपराध ऐन २०७० को दफा २२ र फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३५ बमोजिम जुनसुकै बेला पक्राउ गर्न सकिने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका ‘हाइ प्रोफाइल’ व्यक्तिमाथि किन छानबिन अगाडि बढाइएन भन्दै आलोचना भइरहेको थियो । बयानका क्रममा उनीहरुको नाम आएपनि प्रहरीले सोधपुछ समेत गरेको छैन।

सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदन अध्ययन सकेर बुधबारसम्ममा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गर्ने तयारी गरेको छ।

भुटानी शरणार्थी

विशेष