लिङ्देनले भने– मन्त्रिपरिषदका निर्णय अख्तियारले हेर्न पाउँदैन, हुन्छ भ्रष्टाचार नियन्त्रण ?
लिङ्देनले नै उठाए राजा र पञ्चहरुको सम्पत्ति छानविन गर्नु पर्ने कुरा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षसमेत रहेका सांसद राजेन्द्र लिङ्देनले भ्रष्टाचार नियन्त्रणका कुरा गर्ने राजनीतिक दलका नेताहरुले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन्। ‘मन्त्रिपरिषदका निर्णय अख्तियारले हेर्न नपाउने भन्ने र अख्तियारमा आफ्नै कारिन्दा भर्ति गर्ने’ नेताहरु नै भ्रष्टाचार नियन्त्रणको कुरा गरिरहेको उनको आरोप छ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद लिङ्देनले स्वतन्त्र नागरिक आयोग गठन गरेर सम्पत्ति छानबिन गर्नुपर्ने बताए। नीति तथा कार्यक्रममा भ्रष्टाचार नियन्त्रणका लागि सरकारले कुनै पनि कार्यक्रम नल्याएको विषयमा उनले भने– ‘मैले त भनेको छु, पञ्चहरूको, राजाको, क–कसकोबाट सुरू, कहाँबाट सुरू गर्ने हो। तर अब सबैको सम्पत्ति छानबिन गरिनेछ र उनका नातागोता र परिवारको सम्पत्ति छानबिन गरिनेछ र कारबाही गरिनेछ भनेर पो लेख्नुस् न!’
भ्रष्टाचारविरूद्धको प्रतिबद्धता कागजले मात्र नहुने भन्दै उनले छानबिन गरी अवैधानिक सम्पत्ति जफत गरिनुपर्ने पनि बताए। ‘यो संसदमा दोहोरी चलिसक्यो। प्रधानमन्त्री पनि २०४६ पछिका उच्च पदस्थ नेता÷कर्मचारीको सम्पत्ति छानबिन गर्ने भनेर भन्नुहुन्छ। प्रमुख प्रतिपक्षी दलका नेताले त भनिसक्नुभएको छ’ उनले भने–‘पहिलोचोटि यसप्रकारको सहमति भएका बेला नीति तथा कार्यक्रममा स्वतन्त्र नागरिक आयोग गठन गरेर जहिलेको मिति तोके पनि छानबिन गरौं।’