News

नक्कली भुटानी शरणार्थी प्रकरणमा ठुला माछा जोगिने यस्ता छन् संकेत

९ दिन सम्पर्कविहिन भएकी मञ्जु तारतम्य मिलेपछि यसरी आईन वाहिर

नक्कली भुटानी शरणार्थी प्रकरणमा ठुला माछा जोगिने यस्ता छन् संकेत

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा दायर गर्ने अन्तिम तयारी भईरहेको छ। तर, प्रहरी हिरासतमा रहेका व्यक्तिहरूको बयानले यो प्रकरण थप गिजोलिएको छ।

आरोपितहरूको बयानका बारेमा आधिकारिक सवै कुरा बाहिर आएको छैन, तर, यो प्रकरणमा मुख्य दलका शीर्ष नेतामा तिव्र छट्पटी छ। प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको निरन्तरको भेटघाट र संसदभित्रको ‘घोचपेच’ले धेरै कुराको संकेत गरेको छ।

पार्टी सचिवसमेत रहेका पूर्वउपप्रधानमन्त्री एवं निलम्बित सांसद टोपबहादुर रायमाझी पक्राउ र पार्टी उपाध्यक्ष एवं पूर्व गृहमन्त्री रामबहादुर थापा बादल र उनी श्रीमती नैनकलाको नाम प्रहरी प्रतिवेदनमा संलग्न र छोरा प्रतिक फरार रहेका कारण एमाले पनि यसमा ‘रमिते’ बन्न पाएको छैन।

थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउसँगै थापा र राईका छोराहरूसमेत फरार सूचीमा छन्। पक्राउ परेका आरोपितको बयानका आधारमा प्रहरीले सरकारी वकिललाई बुझाएको अनुसन्धान प्रतिवेदनमा बादलसँगै उनकी पत्नी पूर्वसञ्चारमन्त्री नैनकला, पूर्वगृहसचिव एवम् अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई, एमालेका पूर्व प्रदेश सांसद अजयक्रान्ति शाक्य र एमाले अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको समेत नाम उल्लेख छ।

पक्राउ परेका आरोपितबाट केही कुरा खुल्छ कि ? भन्ने त्रास नेपाली कांग्रेसमा समेत देखिएको छ। सामाजिक सञ्जालमा पार्टी सभापति शेरबहादुर देउवा सहित उनकी पत्नी आरजु राणा र प्रहरी हिरासतमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणकी श्रीमती मञ्जु खाणको अडिओ सार्वजनिक भएपछीको ‘तरङ्ग’ रोक्न कांग्रेस बागमती प्रदेश समितीले पार्टी नेताका विरुद्ध आएका समाचार लाइक, कमेन्ट र सेयर नगर्न उर्दी नै जारी गरेको छ।

यो प्रकरणमा प्रहरीले १६ जनालाई पक्राउ गरेको थियो। उनीहरुलाई छुटाउन प्रहरी प्रशासनलाई तीब्र दबाब दिइएको स्रोते जनाएको छ। 

स्रोतका अनुसार यो प्रकरणमा एमालेका सचिव एवम् अर्घाखाँचीबाट निर्वाचित सांसद् टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई जोगाउनेगरी प्रतिवेदन तयार पार्न प्रहरीलाई उच्च तहका नेताहरुको दबाब आएको थियो। 

प्रहरी महानिरीक्षक वसन्त कुँवरले समेत मुद्दा कमजोर हुनेगरी प्रतिवेदन तयार पार्न निर्देशन दिएको दाबी स्रोतले गरेको छ। महान्यायाधिवक्ता दीनमणि पोखरेलले जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीलाई आइतबार मात्रै बोलाएर मुद्दाको फाइल मिलाएर ल्याउन भनेका थिए।

मुद्दामा सत्ता र प्रतिपक्षका उच्च राजनीतिक नेताहरुको ठूलो चासो रहेको संकेत गर्दै उनले अनुसन्धान प्रतिवेदन त्यहीअनुसार मिलाएर ल्याउन कार्कीलाई भनेका थिए। यसअघि पूर्व उपप्रधानमन्त्रीसमेत रहेका रायमाझीलाई वैशाख २० गते प्रक्राउ गर्न गएको टोलीलाई आईजी कुँवरले नै फिर्ता बोलाएका थिए।

कांग्रेस सभापति शेरबहादुर देउवाले यो प्रकरणमा विशेष चासो राख्दै प्रहरीलाई तारन्तार फोन गरेको कुरा यसअघि नै सार्वजनिक भएको थियो। आफु र श्रीमतीसमेतको नाम मुछिएपछि उनले दैनिक ५ पटकसम्म प्रहरीलाई फोन गर्ने गरेको स्रोतको दावी छ। उनले यो प्रकरणमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन्।

कांग्रेस नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत काठमाडौं प्रहरी परिसरको हिरासतमा रहेका पूर्वगृहमन्त्री खाँणको मुद्दा कमजोर बनाउने प्रयासस्वरुप दबाब दिएको बालुवाटार स्रोतले उल्लेख गरेको छ। पछिल्लो समय प्रधानमन्त्री दाहालसमेत गलिसकेको पाईएको छ।
मुद्दालाई कमजोर बनाउन अहिले पनि भित्र भित्रै उच्च नेतृत्वबाट लबिङसँगै दबाब दिने काम भइरहेको छ। पूर्वगृहमन्त्री एवम् एमाले उपाध्यक्ष बादलको नाम मुछिए पनि उनीविरुद्ध अभियोग दर्ता भएन। तर उनको नाम मुद्दाको फाइलमा मुछिएको छ। पक्राउ परेका बिचौलियाहरुले थापालाई नगद नै बुझाएको बयान दिएका छन्। 

यस्तै उनी गृहमन्त्री हुँदाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईको मोबाइलबाट पनि रकम लेनदेनका साथै नक्कली शरणार्थी बनाउन संलग्न रहेको प्रमाण फेला परेको प्रहरी स्रोतले दाबी गरेको छ। 

इन्द्रजितबाटै हाल अख्तियार प्रमुख रहेका पूर्वगृहसचिव प्रेमकुमार राई संलग्न भएको प्रमाण प्रहरीले जुटाएको स्रोतको दावी छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य आरजु राणा र मञ्जु खाँणले पनि रकम बुझेको बिचौलियाले दाबी गरेका थिए।  

म्यासेजमा समेत दुवैजना मुछिएको अनुसन्धान अधिकारी बताउँछन्। तर अब उनीहरु पनि यो प्रकरणबाट करिब जोगिएका छन्। त्यसैले वैशाख २७ गते पति बालकृष्ण पक्राउ परेपछि ९ दिन गायब भएकी मञ्जु संसदमा आउन थालिसकेकी छन् भने सोमबार मात्रै पतिलाई प्रहरी परिसरमै गएर भेटेकी छिन्।

पक्राउ परेका खाँणको मोबाइलबाट यो प्रकरणमा दुवैजना संलग्न रहेको प्रमाण प्रहरीले जुटाएको थियो । डिजिटल फरेन्सिक ल्याबमा परीक्षण गरिएको मोबाइल रिपोर्टमा पनि नक्कली शरणार्थी प्रकरणमा मञ्जु र आरजुको संलग्नता देखिएको सरकारी वकिल कार्यालयका एक अधिकारी बताउँछन्।  

तर, प्रहरीले भने खाँणको मोवाईलमा केही पनि फेला नपरेको र मोवाइल नै परिवर्तन गरेको हुन सक्ने सूचना वाहिर ल्याएको छ।

यो पनि,

भुटानी शरणार्थी

विशेष