News

प्रहरीको प्रतिवेदनमा आरजु र मञ्जुको नामै छैनः नैनकलाको प्रमाण भेटियो, अनुशन्धान भएन

प्रहरीको प्रतिवेदनमा आरजु र मञ्जुको नामै छैनः नैनकलाको प्रमाण भेटियो, अनुशन्धान भएन

नक्कली भुटानी शरणार्थी प्रकरण अनुशन्धान गरिरहेको प्रहरीले मोवाईल म्यासेज र बयानबाट रकम असुलेको पुष्टि हुँदा पनि कतिपय भीआईपीमाथि अनुशन्धान नै नगरी प्रतिवेदन वुझाएको पाईएको छ।

त्यस मध्येमा पूर्वगृहमन्त्री एवम एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलकी श्रीमती नैनकला थापा छिन्। पक्राउ परेकाहरुले नैनकलालाई पैसा वुझाएको बयान दिएका छन् भने उनका छोरा प्रतिकको मोवाईल म्यासेजबाट समेत त्यो कुरा पुष्टि भएको छ।

प्रहरी उच्च स्रोतका अनुसार ‘आमाले रकम बुझिसकेको’ भनेर प्रतिकले बिचौलियालाई म्यासेज पठाएको भेटिएको छ। प्रतिक फरारको सूचिमा छन्। यता, यसअघि चर्चामा आएका कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा र बालकृष्ण खाँण पत्नी मञ्जु खाँणको भने प्रहरीले प्रतिवेदनमा नामै उल्लेख गरेको छैन। बयानका क्रममा उनीहरुको नाम नआएको र कुनै पनि प्रमाण फेला नपरेको प्रहरीको दाबी छ। 

तर, बादल, उनकी पत्नी नैनकला, पूर्वगृहसचिव एवम् अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई, एमालेका पूर्व प्रदेश सांसद अजयक्रान्ति शाक्य र एमाले अध्यक्ष केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको नाम भने प्रतिवेदनमा उल्लेख छ।

उनीहरुको बारेमा थप प्रमाण भेटिए पुरक अभियोग लैजान बाटो खुल्ला रहेको प्रहरीको भनाई छ। बादल र सचिव राईले नै शरणार्थीको दीर्घकालीन व्यवस्थापन गर्न भन्दै कार्यदल गठन गरेका थिए भने यही बेला शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गिरोहले नेपालीबाट लाखौँका दरले रकम उठाउन थालेको थियो।

अनुसन्धानका क्रममा यो ठगी प्रकरण बादलकै पालामा भएको खुले पनि बादलको प्रत्यक्ष संलग्नताको प्रमाण जुटाउन नसक्दा प्रहरीले उनलाई प्रतिवादी बनाउन सकेन। बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई भने वैशाख २० गते नै पक्राउ परेका छन्। उनले सबैभन्दा बढी रकम लिएको प्रमाण फेला परेको छ। इन्द्रजितका छोरा निरज फरारको सूचीमा छन्।

यो मुद्दामा अहिलेसम्म १६ जना पक्राउ परेका छन्। १७ जना फरार छन्। उनीहरुविरुद्ध प्रहरीले राज्यविरुद्धको कसुरसहित ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र सार्वजनिक पद धारण गरेकाको हकमा भ्रष्टाचारको कसुरमा समेत मुद्दा चलाउन राय दिएको छ।

सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रहरीले सोमबार नै पत्र पठाइसकेको छ। 

भुटानी शरणार्थी

विशेष